सिन्धुपाल्चोक ।
दशैं नजिकिँदै छ । तिहार आउँदै छ । त्यसैले अहिले सिन्धुपाल्चोकको सदरमुकाम चौताराका विभिन्न पसलहरुमा अनुगमन तीव्र छ ।
यही क्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको अगुवाईमा बजार क्षेत्रमा सञ्चालनमा रहेका मासु पसल तथा बधशालाको अनुगमन बुधबार उपप्रमुख सीता थापाको नेतृत्वले गरेको हो । थापाको टोलीले वडा नं. ५ र ७ मा सञ्चालित ११ वटा मासु पसल र २ वटा बधशालाको अनुगमन गरेका थियो । टोलीमा थिए वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठ, उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुरारी बख्रेल, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका प्रतिनिधि, पत्रकारलगायत ।
नगरपालिकाले भनेको छ– उपभोक्ताले दैनिक उपभोग गर्ने खाद्य वस्तुको गुणस्तर र स्वच्छता कायम गराउनु अनुगमनको मुख्य उद्देश्य हो । त्यसले अनुगमनका क्रममा मासु पसलको सरसफाइ, मासु राख्ने तथा बिक्री गर्ने स्थानको अवस्था, बधशालाको व्यवस्थापन लगायतका विषयमा निरीक्षण गरिएको थियो ।
अनुगमनका क्रममा उपप्रमुख थापाले भनिन्–‘अधिकांश मासु पसलमा सरसफाइको पक्षमा अझै सुधार आवश्यक देखियो ।’ यसको मतलब चौताराका मासुपसल र बधशाला के फोहर छन् यहाँ अर्काे प्रश्न दोहोरिनसक्छ । बधशालाहरूलाई पनि व्यवस्थित र स्वच्छ बनाउनुपर्ने उनको भनाइ छ । नगरपालिकाले विभिन्न समयमा अनुदान तथा सहयोग उपलब्ध गराउँदै आए पनि अपेक्षाअनुसार मासु पसलहरू व्यवस्थित हुन नसकेको उनी बताउँछिन् । थापाले आगामी दिनमा खाद्य विज्ञसहितको टोली बनाएर थप अनुगमन गर्नुपर्ने आवश्यकता रहेको समेत बताइन् ।
उपप्रमुखको यो भनाइले चौताराका मासु पसल खासमा सफा छैन भन्ने देखाउँछ । यही सन्दर्भमा चौताराको एक मासु पसलमा भेटिएका ग्राहकले मन खिन्न मान्दैै भनेको सुनियो–‘भनेपछि के हामीले सफा नगरिएको ठाउँबाटै मासु लिएर गयौं त ।’ अर्का ग्राहकले थपे, ‘खै सफा नै देखिन्छ । यो दशैंको मुखमा अनुगमन गररेपछि केही निष्कर्षका लागि यस्तो पो भनियो कि ।’ यसले अन्य बेला नगरिने अनुगमनमाथि प्रहार गरेको छ ।