सिन्धुपाल्चोक। सिन्धुपाल्चोकका पशुचौपायामाथि ‘लम्पी–स्किन’ रोग संक्रमणको खतरा बढेको छ । छिमेकी जिल्ला काभ्रेमा यो रोग देखिएसँगै सिन्धुपाल्चोकमा पनि यसको खतरा बढेको हो ।
काभ्रेको बनेपाका केही वडामा ‘लम्पी–स्किन’को सङ्क्रमण देखिएको छ । पशु सेवा कार्यालय काभ्रेपलाञ्चोककाअनुसार बनेपाका वडा नं १२ र १४ का केही दुधालु पशुमा देखिएको सङ्क्रमण पुष्टि हो । रोगको संक्रमण देखिएसँगै कार्यालयले खोप अभियानलाई तीव्रता दिएको जनाएको छ ।
जिल्लाको धुलिखेल, पाँचखाल तथा मण्डनदेउपुरमा समेत सङ्क्रमण देखिएको र परीक्षणका लागि प्रयोगशाला पठाउन नमूना संकलन भइरहेको जनाइएको छ । छ महिनादेखि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक दुई जिल्लाका २५ स्थानीय तहका पशुमा लम्पी–स्किनविरुद्धको खोप लगाइएको छ भने भदौ पहिलो हप्ता सप्ताहब्यापी चेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
पशु सेवा कार्यालयका अनुसार गत वर्ष काभ्रेपलाञ्चोकमा लम्पी–स्किन सङ्क्रमित २८ हजार ६५६ पशुमध्ये एक हजार २७४ पशु मरेका थिए । जिल्लाको १३ स्थानीय तहमध्ये केही तहले पशु मरेका किसानलाई राहत प्रदान गरेका थिए ।
यो रोगको सङ्क्रमण भएको लैनो गाईभैँसीमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घट्ने गर्दछ । गाईभैँसीमा यो रोग देखापरेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको कडा गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्याधिक मात्रामा तरल पदार्थ आउने,र्याल काढ्ने, लिम्फनोड सुनिने लक्षण देखा पर्ने र अन्त्यमा मृत्यु हुने हुन्छ ।
यस्तै लम्पी स्किन रोग लगाउने भाइरस गोठको वातावरणमा लामो समयसम्म जीवित रहन्छ । यो रोग लागेर मरेका पशुको उचित तरिकाले गाड्ने वा जलाउने कार्य छिटोभन्दा छिटो गर्नुपर्दछ । लामखुट्टे, किर्ना र भुसुनाजस्ता कीराले यो रोगको जिवाणु रोगी पशुबाट स्वस्थ पशुमा सर्ने गर्छन् ।
वर्षात्को मौसममा बढी देखिने यो रोग रोगी पशुको सिङ्गान, दूध र घाउबाट निस्केको पीप, रगतजस्ता जैविक रसको प्रत्यक्ष संसर्गबाट सर्नसक्छ । सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट पनि यो रोग सर्ने गरेको पाइएको छ ।