सिन्धुपाल्चोक । साउन १८ गते इकुमा गएको पहिराेले अवरुद्घ कोदारी राजमार्ग खुलेको छ । लामाे प्रयासपछि पहिराे पन्छाएपछि सडक एकतर्फी रूपमा खुलेको हो ।
पहिरो व्यवस्थापन गर्न १५ दिन लाग्ने भनिए पनि एक सातामै मर्मत गरी सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनले बुधबार साँझदेखि सञ्चालनमा आएको बताए । सडक सञ्चालनमा आएसँगेे आजदेखि ठुला कन्टेनरहरू पनि आइरहेका छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा साउन १८ गते खसेको पहिरोले करिब २५० मिटर सडक प्रभावित भएको थियो । जसमध्ये ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त थियो । उक्त पहिरो व्यवस्थापनसँगै तातोपानी नाका सञ्चालनमा आएको छ । साथै तातोपानी नाका हुँदै चीनबाट आयात गरी ल्याइएका मालवस्तुसहित कन्टेनरहरू नेपाल आउन थालेका छन् ।