सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ज्ञानेन्द्र मैनालीले पछिल्लो दुई वर्षदेखि ड्रागनफ्रुट खेती गरिरहेका छन् । सात रोपनी जमिनमा लगाएको ड्रागनफ्रुटले अहिले उत्पादन दिन थालेपछि उनले आम्दानीसमेत गर्न थालेका छन् ।
गाउँमै बसेर पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने विश्वासको सजीव उदाहरण उनले देखाएका छन् कि परिश्रम, लगनशीलताले गाउँको बाँझो जमिनमा पनि सपना फलाउन सकिन्छ।
मैनालीले वर्षमा दुईपटक बजारमा यो फल विक्री गर्ने गरेका छन् । प्रतिकिलो ३ सय ५० देखि ४ सय रूपैयाँसम्म बिक्री गर्दै आएको उनी बताउँछन् । वर्षमा करिब–करिब एक हजार केजी बिक्री गरी आम्दानी गरिरहेको बताउने उनी परम्परागत बालीको तुलनामा राम्रो आम्दानी हुने देखिएपछि यस खेतीप्रति थप उत्साहित छन् ।
बाँझो जमिनलाई फल्ने बनाउने उनको यो प्रयास केवल व्यक्तिगत सफलता होइन, सिंगो गाउँले अनुकरण गर्न सक्ने उदाहरणीय कृषि क्रान्ति पनि हो। दुई वर्षको मेहनत र माटोसँगको निरन्तर सम्बन्धपछि ती बिरुवाहरूले फल दिन थाले। त्यसबेलादेखि उनले अनुभव गरे – यो खेती केवल व्यवसायिक रूपमा फाइदाजनक होइन, भविष्यको दिगो आधार बन्न सक्छ।
त्यस्तै साँगाचोकको पोखरेमा चौतारा छापका शुशिल श्रेष्ठको करिव पाँच रोपनी जग्गामा ड्रागनफ्रुटको खेती छ । करिब चार सय बिरूवा रोपिएको छन् । अहिले सबै बोटबाट रातो र सेतो जातका ड्रागनफ्रुट फल उत्पादन भइरहेको छ । उनले उत्पादन गरेको फल खरिद गर्न व्यापारीहरु बगानमै आउँछन् । जेष्ठदेखि कात्तिकसम्ममा दुई पटक फल बेचेर आम्दानी गर्दै आएको उनले बताए ।
खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनुका साथै बजार मूल्यमा पनि समस्या नभएपछि ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो । बजारमा ड्रागनफ्रुट प्रतिकिलो छ सय ५० देखि आठ सय ५० सम्ममा किन्न पाइन्छ । नेपालमा पहिलो पटक जगनाथ राईले विदेशबाट ड्रागनफ्रुट भित्र्याएर खेती गरेका थिए ।
पछिल्लो समय सिन्धुपाल्चोकमा किसानको ’ड्रागनफ्रुट’ खेतीप्रति आकर्षण बढ्दै गएको छ ।
एक पटक लगाएको बिरूवाबाट वर्षौंसम्म आम्दानी लिन सकिने, सजिलो खेती प्रविधि र राम्रो बजार मूल्य भएकाले परम्परागत खेती छोडेर किसान व्यवसायिक ड्रागनफ्रुट खेतीतर्फ आकर्षित हुन थालेका हुन् । यसले सिन्धुपाल्चोकमा व्यवसायिक कृषि विस्तारको नयाँ सम्भावना पनि देखाएको छ ।
कृषि प्राविधिकहरूका अनुसार ड्रागनफ्रुट खेतीका लागि सिन्धुपाल्चोकको हावापानी उपयुक्त छ । यो खेती एक पटक लगाएपछि १५–२० वर्षसम्म फल दिने, कम सिँचाइ र कम मलको आवश्यकता हुने तथा बजार मूल्य उच्च हुने भएकाले कृषकहरूका लागि लाभदायक विकल्प हो ।