सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गाउँमा गोरु पाल्ने हराउँदै जान थालेपछि किसानलाई प्रोत्साहन स्वरुप रकम उपलब्ध गराएको हो ।
हल गोरु पाल्ने २४० कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । प्रति हलगोरु पाल्ने किसानलाई ५ हजार रुपैयाँका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको नगर प्रमुख आइतमान तामाङले बताए । अनुदान पाउने किसानले अनिवार्य बीमा गर्नुपर्ने छ । पछिल्ला वर्षदेखि प्रविधियुक्त ट्याक्टर भित्रिने क्रम बढेपछि नगरपालिकाले प्रोत्साहन रकम दिएको हो ।
अहिले गाउँमा गोरु देख्नै मुस्किल हुन थालेको र लोप हुन सक्ने सम्भावना बढेपछि संरक्षणका लागि यस्तो जुक्ति लगाइएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । अनुदान रकम बैंक खातामार्फत र बीमा भएको तर बैंक खाता नभएको किसानलाई भरपाई गरेर रकम उपलब्ध गराएको नगरपालिका कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले जानकारी दिए ।
यस्ले प्रांगारिक मल उत्पादनमा सहयोग पुग्नुका साथै माटो सुधार गर्न र जैविक विविधतामा समेत सुधार ल्याउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।