भोटेकोशीका यी १२ गन्तव्य : सम्भव छ पर्यटनबाटै समृद्धि

भोटेकोशीका यी १२ गन्तव्य : सम्भव छ पर्यटनबाटै समृद्धि

फरक पत्रिका

शनिबार, साउन ४ २०८२

भोटेकोशीका यी १२ गन्तव्य : सम्भव छ पर्यटनबाटै समृद्धि

सिन्धुपाल्चोक । नेपाल–चीनबीचको प्रमुख स्थलमार्ग तातोपानी नाका सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा पर्दछ । जिल्लाको उत्तरी भेगमा पर्ने यो गाउँपालिका पर्यटकीय रुपमा उत्कृष्ट गन्तव्य हो । नेपाल तीब्बत लडाई गरेको ऐतिहासिक दुगुनागढी किल्ला, साहसिक खेल बञ्जी जम्प र र्याफ्टिङ, आनी गुम्बा, लिस्तीमाई मन्दिर, भैरवकुण्ड, तातोपानी धारा, जैमिन थपी नारायण मन्दिर, सात सय पुरानो मानव खप्पर, पाउगुम्बालगायत पर्यटकीय आकर्षकका क्षेत्रले भोटेकाशीको शोभा झनै बढाएको छ ।
भोटेकोशी गाउँपालिका साविक चार गाउँ विकास समिति मिलेर बनेको हो । साविक तातोपानी, लिस्ती, फुल्पिङकट्टी र मार्मिङ गाविसको एकीकृत रुप नै भोटेकोशी गाउँपालिका हो ।
अहिले यहाँ सिन्धुपाल्चोकको भोटेकोशीमा रहेका प्रमुख १२ पर्यटकीय गन्तव्यको चर्चा गरिन्छ ।

बञ्जी जम्प

भोटेकोशी गाउँपालिका वडा नं. ५ मार्मिङमा साहसिक खेल अन्तर्गतको बञ्जी जम्प रहेको छ । स्थानीय नयाँ पुल नामक स्थानमा रहेको बञ्जी जम्प द लास्ट लास्ट रिसोर्टले सञ्चालन गरेको हो।
अग्लो स्थानमा पुृलबाट भोटेकोशी नदिमा हामफाल्ने यो खेलका लागि आन्तरिक स्थानबाट पर्यटकहरु जाने गर्दछन् । विदेशी पर्यटककोसमेत रोजाईमा परेको यहाँ बञ्जी जम्पका अलावा सुइङ, क्यानोकिङ जस्ता साहसिक खेलहरु पनि सञ्चालन हुने गरेको गरेको छ।

लिस्तीमाई मन्दिर

उग्रचण्डी भगवतीको नामबाट प्रख्यात लिस्तीमाई मन्दिर भोटेकोशी गाउँपालिकाको वडा नं. १ लिस्तीमा पर्दछ । दसैं, गाइजात्रा, चैते दसैंैजस्ता पर्वहरुमा विशेष मेला लाग्ने यो मन्दिरमा १२ महिना नै दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । लिस्ती माई भगवतीको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वासका साथ दर्शनार्थीहरु यहाँ आउने गरेका छन् । यस मन्दिरमा दैनिक रुपमा पूजा आजा गर्नका लागि गाउँपालिकाबाट पुजारीको व्यवस्था गरिएको छ भने पालिकाले यस मन्दिरलाई धार्मिक पर्यटनको विकास गर्दै लैजाने गुरुयोजना रहेको छ ।

भैरवकुण्ड

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पर्ने महत्वपूर्ण कुण्ड हो भैरबकुण्ड । यो कुण्ड हिन्दु तथा बौद्ध धर्मावलम्बीहरु आस्था र विश्वासको कुण्ड हो । यसलाई शेर्पाहरुले आमा छ्यूमेन भन्ने गर्दछन् ।
समुन्द्री सतहबाट छ हजार ५ सय ६७ मिटरको उचाइमा पर्ने फुर्वी घ्याचु भञ्ज्याङको फेदीमा अवस्थित भैरवकुण्ड समुन्द्री सतहबाट चार हजार १२४ मिटरको उचाइमा पर्दछ । नापी महाशाखाको तथ्याङकअनुसार ८४ हजार १९३ वर्गमिटरमा फैलिएको विशाल ताल अति मनमोहक रहेको छ।
अरनिको राजमार्गको १०९ किलोमिटरमा पर्ने तातोपानीको लार्चाबाट ठाडो उकालो बाटो हिँडेर डेढ दुई दिनमा पुग्न सकिने भैरवकुण्ड आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दछ । विशेषगरि जनै पूर्णिमामा यहाँ धर्मावलम्बीहरुको खचाखच हुने गर्दछ ।
यस कुण्डलाई धार्मिक रुपमा मात्रै नभई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न गाउँपालिकाले प्रदेशको समन्वयमा गुरु रिम्पोछेको विशाल मुर्ती, हेलिप्याड निर्माण गरेको छ ।

आनी गुम्बा

लिस्तीको छगाममा रहेको सुन्दर आनी बस्ती यस गाउँपालिकाको वडा नं १ मा पर्दछ । यहाँ आनीहरु मात्रै बस्ने भएकाले यो बस्तीलाई आनी गुम्बा भनिएको हो । यो बस्तीका सबै घरहरु एकै आकार र रंगका भएकाले आकर्षक देखिन्छ । यो बस्तीमा एक घरमा एक आनी बस्दछन् । गुम्बामा आनीहरु दैनिक रुपमा पूजापाठका साथै अध्ययन गर्ने गर्दछन् ।

दुगुनागढी

यस गाउँपालिकाको ऐतिहासिक तथा पर्यटकीयस्थल हो दुगुनागढी । यो करिब एक सय ६० वर्षभन्दा पुरानो पुरातात्विक गढी भएकाले पनि यसको प्रख्याती बढेको छ ।
वि. स. १९१२ मा तीब्बत र नेपालबीच भएको युद्धमा नेपाल पक्षले यही गढीलाई आधारक्षेत्र बनाएर लडाईं लडेका थिए । त्यसताका नेपाली पक्षको सुरक्षार्थ तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले अग्लो स्थान रोजेर लडाईंका लागि सहज बनाउन गढीको निर्माण गरेका हुन् ।
देशभरका ऐतिहासिक १० गढीमध्येको भित्र यो गढीलाई मानिन्छ । अग्लो स्थानमा समथर भूभाग र रमणीय डाँडामा रहेका बिशाल चट्टानलाई कलात्मकता दिई पहराको खोचमा तत्कालीन प्रधानमन्त्री जंगबहादुरले तीब्बतसँग युद्ध लडेको किवंदन्ती छ । कडा चट्टानलाई आड लिएर नेपाली पक्षले यही गढीबाट तीब्वततिर प्रहार गरेको शिलालेखमा उल्लेख छ । भूकम्पले क्षतविक्षत बनाएको यो गढीको पुनर्निर्माण गरिएको छ । प्रदेश सरकार र भोटेकोशी गाउँपालिकाको सहयोग र समन्वयमा गढीको पुनर्निर्माण गरिएको थियो ।
यस गढीको प्रचारप्रसारका लागि विभिन्न खेलकुद, साँस्कृतिक कार्यक्रम, म्युजिक भिडियोमार्फत प्रचारप्रसार गरि राखिएको छ । यो गढी पुग्न गोरेटो बाटोकोसमेत निर्माण गरिसकिएको छ।

तातोपानी

धार्मिक तथा पर्यटकीय गन्तब्यमा रुपमा प्रख्यात छ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित तातोपानी धारा । प्राकृतिक रुपले नै ४४ डिग्री सेन्टिग्रेड तापक्रममा बग्ने पानीमा स्नान गर्न तीर्थालुहरु आउने गरेका छन् । यहाँको पानीमा स्नान गरे छाला, हड्डीलगायत विभिन्न रोगहरु निको हुने जनविश्वास भएकाले तीर्थालुहरु यहाँ आउने गरेका छन् । यहाँ कात्तिक र चैत महिनामा मेला लाग्ने गर्दछ । तातोपानी स्नान गर्न छिमेकी जिल्ला दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेलगायतका जिल्लाहरुबाट पनि तीर्थालुहरु आउने गरेका छन् ।
स्नानका लागि स्वदेशी एवम् विदेशी पर्यटक आउने गरेका छन् । तीर्थालुलाई थप सुविधाका लागि आधुनिक कोठासमेत तयार गरिएको तातोपानी धारा व्यवस्थापन समितिले जनाएको छ । तीर्थालुका लागि महिला र पुरुषका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको छ । यस ठाउँलाई अझै आकर्षक गर्नका लागि करिब ३ करोड रुपैयाँको लगानीमा शिवमुर्ती निर्माणपछि धार्मिक तथा पर्यटकीय हिसाबले यो धाराको महत्व अझै बढ्ने छ ।

दुगुनागढी होमस्टे

यस पालिकाकोे प्रमुख पर्यटकीयस्थल भैरवकुण्ड पदमार्गमा होमस्टेको सुरुआत गरिएको छ। भोटेकोशी गाउँपालिका–३स्थित यार्मासिङमा पर्यटन प्रवद्र्धनलक्षित होमस्टेको सुरुआत गरिएको हो ।
भैरवकुण्ड, दुगुनागढीलगायत पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकको सुविधाका लागि स्थानीय आमा समूहले होमस्टे प्रवद्र्धन गरेका हुन्।
हाल प्रवद्र्धन गरिएको होमस्टे ऐतिहासिक दुगुनागढी नजिकै पर्दछ । भूईंचालोपछि दुगुनागढीको पुनर्निर्माण सकिएकाले यहाँ आउने पर्यटकहरु बढेका छन् । यहाँ गाउँपालिका र गौरीशंकर संरक्षण क्षेत्रलेसमेत होमस्टे सञ्चालनका लागि पहलकदमी लिएको छ।
यार्मासिङ गाउँमा करिब २० घरमा होमस्टे सञ्चालन गरिएको छ । हरेक घरमा दुई वटा कोठा पाहुनाका लागि छुट्टाइएको छ। यहाँ आउने पर्यटकका लागि होमस्टे सञ्चालकले अतिथि सत्कार, जलपान, खानपिनको व्यवस्था गर्ने गरेका छन् । पाहुनालाई स्थानीय शेर्पा संस्कृति झल्कने नाचगानसमेत देखाइने गरिएको छ ।

जैमिन थपिनारायण मन्दिर

थपिनारायण मन्दिर भोटेकोशी गाउँपालिकाको प्रख्यात मन्दिर हो । ऐतिहासिक र पुरातात्विक महत्वका रुपमा मानिइने यो मन्दिरलाई लक्ष्मी नारायणको बासस्थानमा रुपमा लिइन्छ । विसंखु नारायण, चाँगुनारायण, इचंगुनारायण र शेष नारायणको शिरका रुपमा यो मन्दिरलाई पुजिने गरिएकाले पनि थापी नारायणको प्रख्याती बढेको हो । यहाँ विशेषगरी पौषशुल्क पूर्णिमामा मेला लाग्ने गर्दछ । चार नारायणपछि थापी नारायणको पूजा गरेमा सिद्धि प्राप्त हुने जनविस्श्वास रहेको छ। यस मन्दिरमा भौतिक संरचनाहरु र मन्दिरको व्यवस्थापन गाउँपालिकाले गर्दै आइरहेको छ ।

पाउगुम्बा

सात सय वर्ष भन्दा पुरानो इतिहास बोकेको गुम्बा हो पाउगुम्बा । बौद्धमार्गीहरुको धार्मिक आस्था र विश्वास रहेको यो गुम्बा भोटेकाशी गाउँपालिकाको साविक लिस्तीमा पर्दछ । यो गुम्बा भूकम्पले क्षति गरेपछि पालिकाको पहलमा पुनर्निर्माणको काम गरिएको हो । साथै गुरु रिम्पोछेको मुर्ती निर्माण गरिएको छ ।

कोदारी झरना

चीनको भूगोलबाट नेपालमा झर्छ यो झरना । कोदारी राजमार्ग अन्तर्गत तातोपानी क्षेत्रमा पर्ने यो झरना निकै मनमोहक छ । करिब ३ सय मिटरको उचाईमा रहेको झरनामा आन्तरिक तथा बाह्य पर्यटकहरु फोटो खिच्ने, रमाउने गर्दछन् । झरना नियाल्नका लागि भ्यु टावर बनाइएको छ । जसलाई फ्रेन्डसिप भ्यूटावरको नामले चिनिन्छ ।

त्यांथली

नेपाली विभूति अरनिको चीन जाँदा त्यांथलीमा बास बसेको भन्ने किवंदन्ती छ । साविक मा्िर्मङ गाविसको एउटा सुन्दर र समथर बस्ती त्यांथलीलाई अहिले अरनिको ग्रामको रुपमा विकास गर्न थालिएको छ । अरनिकोले बास बसेकै कारण यो ठाउँको संरक्षण तथा प्रवद्र्धन गर्न थालिएको छ । गाउँपालिकाले यस ठाउँलाई पर्यटकीयस्थलको रुपमा विकास गर्ने जनाएको छ ।
यहाँ निर्माण गरिएको एकिकृत बस्तीलाई अरनिकोको अध्ययन स्थलका रुपमा लिइन थालिएको छ ।

देउढुंगा

आँखैअघि लोभलाग्दो हिमदेव गौरीशंकर हिमाल, त्यसकै काखमा दामुछो पोखरी । छेउमा अग्लो ढुंगा अर्थात देउढुंगा । भोटेकोशी गाउँपालिका–५, मार्मिङ र दोलखा जिल्लाको बिगुको सीमा क्षेत्रस्थित देउढुंगा एउटा पहाडी टुक्रामा देखिने अचम्मको दुई वटा खुड्किला हो ।
गौरीशंकर हिमालभन्दा केही तल रहेको देउढुंगा झण्डै तीन हजार वर्षअघि चौरी गोठालाद्वारा पत्ता लगाएको मानिन्छ । बौद्ध र हिन्दू धर्मको महान तीर्थस्थलमा गनिने देउढुंगालाई वृद्धवृद्धाले स्थानीय शेर्पा भाषामा किबुलुङ वा भूमेदेव पनि भन्ने गर्छन् ।

चीनसँग सीमा जोडिएको भोटेकोशी गाउँपालिकामा यी र यस्ता धेरै पर्यटकीय गन्तव्हरु रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने यो ठाउँको प्रवद्र्धनका लागि स्थानीय तह जागरुक बनेको छ । पाउगुम्बालाई थप पर्यटन प्रवद्र्धनका लागि करिब २५ लाख रुपैयाँ खर्चेर गुरु रिम्पोन्छेको मुर्ती निर्माण गरिएको छ । त्यस्तै देउढुंगा, भैरवकुण्ड, दुगुनागढी पुग्नाका लागि पदमार्ग निर्माण गरिएको छ । पर्यटकलाई यी स्थानमा जान सहज हुन र रमणीय वातावरणबाट गन्तब्यमा जानका लागि पदमार्ग बनाइएको हो । भैरवकुण्डमा पार्क, हेलिप्याडसमेत निर्माण गरिएको छ।

प्रख्यात तातोपानी धारामा २ करोडभन्दा बढीको लगानीमा शिवमुर्ती निर्माण गरिएको छ । प्रमुख बजारमा पर्ने यसले थप पर्यटन प्रवद्र्धनका लागि भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । नारायणथान, लिस्तीमाई मन्दिरमा सतल निर्माण गरी दर्शनार्थीलाई सेवा सहज गराइएको छ भने बञ्जी नजिकै पर्ने कोकरसिंह मन्दिर पुनर्निर्माणले थप आकर्षक देखिएको छ ।
सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रको खम्बाका रुपमा परिचित भोटेकोशी गाउँपालिकामा रहेका यी र यस्ता स्थलहरुको अझै प्रचारको जरुरी रहेको छ । पर्यटकीय क्षेत्रहरूको उचित संरक्षण, प्रवद्र्धन गरेमा गाउँपालिका अर्थतन्त्रमा अब्बल हुनेका साथै पर्यटनबाट समृद्धनजिक देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित