सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा उत्पादित आलुको बिउ देशभर पुर्याइने गरिएको छ । आलुबाली विकास केन्द्र निगालेले गुणस्तरयुक्त बीउ तथा आलु बियाँ उत्पादन गरी देशभरका कृषकसामू पुर्याउने गरेको हो ।
सिन्धुपाल्चोकमा रहेको न्युक्लियस बीउ आलु उत्पादनका लागि स्थापना भएको हो । वर्षौंदेखि गुणस्तरयुक्त बीउ आलु तथा आलु बियाँ उत्पादन गरी देशभरका कृषक समुदायमा बीउ एवम् प्रविधि हस्तान्तरण गर्दै आएको छ । उक्त प्रक्रियामार्फत आलु उत्पादन तथा उत्पादकत्व बढाई पोषण तथा खाद्य सुरक्षाको सुनिश्चितता र गरीवी निवारणमा सो केन्द्रले टेवा पु¥याउँदै आएको हो ।
लिसंखुपाखर गाउँपालिका–५ मुडेस्थित निगाले बजारमा अवस्थित उक्त केन्द्रले समुन्द्री सतहभन्दा २५५० मिटर उचाईमा १०८ रोपनी १३ आना आफ्नै जग्गा र १७ दशमलव ५ रोपनी भाडाको जग्गामा रोजिटा आलु, कार्डिनल, जनकदेव आलु लगायतका विभिन्न जातका आलु बालीसम्बन्धी काम गर्दै आएको छ । रोजिटा आलु मुडेको ब्राण्ड आलु भनेर नेपालभर चिनिएको छ । सो केन्द्रले स्थानीय स्तरका प्राविधिक, अगुवा कृषक, आलुमा क्षमतावृद्धि दिँदै आएको छ ।
केन्द्रले आलु बालीहरुको पि.बि.एस.र टि.पि.एस.तथा विभिन्न पुस्ताका बीउ उत्पादन गरी बीउ उत्पादक कृषकलाई बिक्री वितरण गर्दे आएको केन्द्र प्रमुख अरुण खनालले जानकारी दिए । आलु बालीको जातीय संरक्षण र सम्बद्र्धन गर्ने, आलु बालीमा समस्यामूलक परीक्षण गर्ने, बीउ आलु उत्पादक कृषकलाई प्राविधिक सेवा, बीउ आलुको गुणस्तर नियन्त्रण तथा सुपरिवेक्षण जस्ता विभिन्न सेवा दिँदै आएको उनको भनाइ छ ।