तातोपानी नाकाका मजदुरको रोजीरोटी खोसिँदै, विस्थापित हुने भए कन्टेनर

तातोपानी नाकाका मजदुरको रोजीरोटी खोसिँदै, विस्थापित हुने भए कन्टेनर

फरक पत्रिका

बिहिबार, असार १२ २०८२

तातोपानी नाकाका मजदुरको रोजीरोटी खोसिँदै, विस्थापित हुने भए कन्टेनर

सिन्धुपाल्चोक । नेपाल र चीनबीचको तातोपानी नाकामा लोड–अनलोड गर्ने मजदुरहरुको रोजीरोटी गुम्ने भएको छ । चीनबाट आयातित सामान अब सिधै चोभार बन्दरगाहमा लगिने भएपछि ढुवानी गर्दै आएका कन्टेनरसमेत विस्थापित हुने भएका हुन् ।

उत्तरी नाका तातोपानी र रसुवाबाट नेपालका लागि आयात हुने मालवस्तु चिनियाँ सहरबाट सिधै काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा ल्याइने भएको हो । सामान ढुवानीका लागि चाइना रेलवे कम्पनीले प्रारम्भिक काम कार्यान्वयनमा ल्याएको छ ।

कम्पनीले ढुवानीको जिम्मेवारी लिएसँगै नाका हुँदै ढुवानी गर्दै आएका एक हजारभन्दा बढी २० र २४ फुटे कन्टेनर विस्थापित हुने अवस्था हुन्छ । चिनियाँ ४० फुटे टेलर सिधै चोभार लगिने भएपछि नाकामा कन्टेनर र मजदुरको काम हुँदैन । दुवै नाकामा एक हजारभन्दा बढी मजदुर छन् । उनीहरु बेरोजगार हुनेछन् ।

नेपाल भन्सार तथा विमानस्थलसम्बद्ध श्रमिक संघका ६ सय ४० मजदुर र ट्रक कन्टेनर व्यवसायीले चिनियाँ ४० फुटे टेलर सीधै चोभार ल्याउँदा रोजीरोटी गुम्ने भएकाले विरोध जनाएका छन् ।
नेपाल सरकारले आयात–निर्यातलाई थप सहज र आधुनिक बनाउन निर्माण गरेको चोभार बन्दरगाहमा तातोपानीबाट दैनिक १० वटा ४० फुटे कन्टेनर सिधै चोभार आइरहेका छन् ।

आयातकर्ता व्यापारीले नेपालबाट एलसी पठाएर चीनमा खरिद गरेको सामान अब विनाझन्झट काठमाडौं पुग्ने भएको हो । चीनको व्यापारिक केन्द्रबाट चाइना रेलवे कम्पनीले सामान ढुवानीको जिम्मा लिनेछ । चीन सरकारले सो कम्पनीलाई यस्तो जिम्मेवारी प्रदान गरेको हो । सर्वप्रथम चिनियाँ सहरबाट रेलको डब्बाभित्र राखेर ४० फुटे कन्टेनर तिब्बतको सिगात्सेसम्म आउँछ । त्यसपछि रेलको डब्बामा रहेको कन्टेनरलाई हुक एन्ड ड्रप प्रणालीद्वारा चिनियाँ ट्रकमा जडान गरिन्छ । सिगात्सेमा अवस्थित कस्टम ड्राइपोर्टमा सो कन्टेनरलाई जिपिएससहितको स्मार्ट सिलले लक गरिन्छ । उक्त सिल चिनियाँ क्षेत्रमा भन्सार अधिकारीले ट्र्याक गरेर कन्टेनरको अवस्था नियालिरहेका हुन्छन् । तोकिएको समयभित्र तोकेको गन्तव्यमा नपुगे कारबाहीको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित