काठमाडौँ । आगामी तीन दिन देशका प्रमुख नदीहरूमा बाढीको जोखिम न्युन रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सिन्धुपाल्चोकसहित केही जिल्लाहरुका नदीमा बाढीको जोखिम कम रहेको जनाइएको छ ।
महाशाखाले बिहीबार बिहान जारी गरेको आइतबारसम्मको ‘बाढी पूर्वानुमान बुलेटिन’ मा हरियो रङ लगाइएको छ । हरियोे रङले बाढीको न्यून जोखिम जनाउँछ । देशका अधिकांश सानाठूला नदीहरुमा अबका ३ दिन जलसतह घट्दो हुने महाशाखाले जनाएको छ ।
सिन्धुपाल्चोकसहित नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, रामेछाप, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिमको पूर्वानूमान छ ।