चौतारा–११ का अध्यक्ष रोशनराजले किन गरे तारजालीमा करेन्टप्रवाह ?

चौतारा–११ का अध्यक्ष रोशनराजले किन गरे तारजालीमा करेन्टप्रवाह ?

फरक पत्रिका

शनिबार, जेष्ठ ११ २०८२

चौतारा–११ का अध्यक्ष रोशनराजले किन गरे तारजालीमा करेन्टप्रवाह ?

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ का खेतीयोग्य जमिन वरपर केही वर्षअघि तारजालीले बार लगाइयो । यसको एउटै उद्धेश्य थियो जंगली जनावरबाट बालीको क्षति नगराउने ।

यसका लागि वडाले ३० लाख रुपैयाँ विनियोजन गरेर किसानलाई राहत दिन पहल गरेको थियो । बँदेलको आतङ्कबाट हैरान थिए किसान । वडा कार्यालयमा बँदेलको हैरानीबारे जनगुनासो बढेपछि किसानको उन्मुक्तिका लागि अध्यक्ष रोशनराज गिरीको जुक्ति थियो यो । अनि लगाइएको थियो ८ किलोमिटर क्षेत्रमा तारजाली । जंगली जनावरको कारण वर्षेनि हुने अन्नबालीको क्षति कम गर्न तीन वर्षदेखि तारजाली लगाउने काम भईरहेको हो ।

तारजाली लगाइएपछि किसानले खेतबारीमा बदेल र अन्य जंगली जनावरको सहज पहुँच रोकेको बताएपनि पूर्ण सुरक्षा भने भएको थिएन । अनि उनले अर्काे जुक्ति निकाले ।
त्यो थियो लगाइएको जालीमा सौर्य उर्जाबाट हल्का करेन्ट प्रवाह गर्ने ।

जसले जंगली जनावरलाई क्षति हुँदैनथ्यो । बरु उल्टै भाग्दथे ।

अनि यसलाई थप प्रभावकारी बनाउन तार जालीमा सौर्य ऊर्जाबाट सञ्चालित हल्का करेन्टको प्रवाह पनि सुरु गरिएको हो ।

अध्यक्ष गिरीकाअनुसार यसले जनावरलाई हानी नगर्ने तर डराएर फर्काउने काम गर्ने गर्दछ । जंगली जनावरलाई शारिरीक रुपमा क्षति नहुने र किसानको अन्नबाली पनि नष्ट नहुने भएपछि यस्तो जुक्ति लगाइएको उनको भनाइ छ ।

यो योजनाको सुरुवात शुक्रबार नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले गरेका हुन् । सुरुआतपूर्व प्रमुख सापकोटाले यसको प्रभावकारीता बारे किसानसँग समेत प्रतिक्रिया लिएका थिए । उनले किसानबाट उत्साहपूर्ण प्रतिक्रिया पाएपछि यसको तारिफसमेत गरे । सापकोटाले प्रविधि र परम्पराको समायोजन गर्दै कृषकको सुरक्षा र उत्पादनमा सुधार ल्याउने वडाको योजनाको प्रशंसा गरे ।

अहिले किसान ढुक्क छन् । जंगली जनावर आएपनि त्यसको गोठालो गर्नुपर्दैन । जाली छुन्छ अनि आफैँ भागेर जान्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित