सिन्धुपाल्चोक । काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि तातोपानी नाकाबाट समेत कन्टेनर जान थालेका छन् । यसअघि वीरगन्जबाट मात्रै कन्टेनर कार्गो चोभारमा भन्सार पास गर्न आउने गरेको थियो ।
१५ फागुनदेखि तातोपानी नाकाबाट मालवाहक सवारीसाधन भन्सार जाँचपासका लागि चोभारमा जान थालेको नेपाल इन्टरमोडेल यातायात विकास समितिले जनाएको छ । समितिका अनुसार १५ फागुनमा कोभेक–क्रिग–कालिका जोइन्ट भेन्चर कम्पनीले आयात गरेको हाइड्रोपावरको सामान बोकेका चारवटा कन्टेनर तातोपानी नाकाबाट भन्सार जाँचपासका लागि सीधै चोभार सुक्खा बन्दरगाह ल्याइएका हुन् ।
तातोपानी नाकाबाट समेत कन्टेनराइज्ड मालवस्तु आउन थालेपछि चोभार सुक्खा बन्दरगाहमा थप चहलपहल बढ्न थालेको हो ।
२२ चैत ०७८ देखि सञ्चालनमा आएको चोभारमा सुक्खा बन्दरगाहमा हालसम्म दक्षिणी नाका (वीरगन्ज)बाट मात्र कन्टेनराइज्ड कार्गो र नयाँ सवारीसाधन भन्सार जाँचपासका लागि आउने गरेका थिए ।