सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक प्रहरीले अवैध ढुंगा मिलेमतोमा छाडेको बताएका छन् । जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै बस्नेतले जुगल गाउँपालिकालगायत विभिन्न ठाउँमा अहिले पनि अवैध ढुंगा खानी रहेको र त्यहाँबाट काठमाडौं अवैध रुपले लैजाँदै गरेको ढुंगा सिन्धुपाल्चोक प्रहरीले नरोकको आरोप लगाएका हुन् ।
जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै बस्नेतले सिन्धुपाल्चोकमा सञ्चालनमा रहेको ढुंगाखानी सबै अवैध रहेको समेत बताए ।पहराबाट ढुंगा निकाल्दा विपत्तिका घटना भएकोले कुनै पनि निकायले अबदेखि यस्ता खानी सञ्चालन गरे लाइफ ड्यामेज बनाइदिने चेतावनी दिए ।
उनले प्रहरी प्रशासन, जनप्रतिनिधि र कर्मचारीले ढुंगाखानी सञ्चालनमा सहयोग गरे सबैको लाइफ ड्यामेज हुने गरेर आफू अगाडि बढ्ने बताए । केही समयअगाडि जुगल गाउँपालिकाबाट २२ ट्रिप अवैध ढुंगा आउँदा सिन्धुपाल्चोक प्रहरीले मिलेमतोमा छाडेको र आफूले काभ्रे प्रहरीलाई भनेर नियन्त्रणमा लिन लगाएको बस्नेतको भनाइ छ ।
ढुंगा खानी सञ्चालन गर्न दिन केही जनप्रतिनिधि र नेताहरू समेत लागेको उनको आरोप थियो ।