गर्मी छल्न सुकुटेमा सलल र्‍याफ्टिङ

गर्मी छल्न सुकुटेमा सलल र्‍याफ्टिङ

फरक पत्रिका

बिहिबार, बैशाख २० २०८१

गर्मी छल्न सुकुटेमा सलल र्‍याफ्टिङ

सिन्धुपाल्चोक । काठमाण्डौंबाट र्‍याफ्टिङका लागि अरनिको राजमार्गस्थित सुकुटेमा आइपुगेकी ज्योति श्रेष्ठ (२३)ले जीवनकै महत्वपूर्ण मज्जा अनुभव गरिन् । विश्वकै उत्कृष्ट दसौं उत्कृष्ट गन्तब्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदिमा शनिबार र्‍याफ्टिङ गर्न उनीसहित १३ जनाको जम्बो समूह शुक्रबार नै आइपुग्यो ।
‘हामीले सुनेका मात्रै थियौं, र्‍याफ्टिङको मज्जा आफैंले लिन पायौं,’ उत्साहित हुँदै ज्योतिले भनिन्, ‘शनिबार चाप धेरै हुन्छ भन्ने सुनेर नपाइएला भन्ने निकै डर थियो ।’ उनले कलेज छुट्टीको दिन मिलाएर अन्य साथीसँग फेरि आउने सोच अहिले नै बनाइसकेको बताइन् । ‘यत्ति रमाइलो हुन्छ भन्ने आफैले र्‍याफ्टिङ गरेपछि थाहा भयो, साथीहरु सबैलाई अनुभवबारे ‘शेयर’ गर्छाैं अनि यहाँ आउनलाई प्रेरित गर्छाै ।’ र्‍याफ्टिङपछि ज्यातिसँगै उभिएका उनका साथी शैलेश भन्दै थिए ।
जीवनकै लागि नौलो र खतरापूर्ण खेल भएकाले यो समूह केही डराएको भने थियो । ठाडो खोलामा बगिरहेको पानीसँग खासै परिचित नभएकाले सुरुमै मुटुको गति बढेको अनुभव भएको श्रेष्ठ बताउँछिन् । ‘जब र्‍याफ्टिङ खोलाको पानीसँगै बग्न थाल्यो, मनमा डरको गति पनि झनै बढ्यो,’ उनले आफ्नो अनुभव सुनाइन्, ‘कहिलेकाहिँ आँखा चिम्लनुसमेत परेपछि भने बेक्कार गरिएछ भन्ने पनि लाग्यो ।’ उनले साथीहरु पानीमा रमाउँदै कराउँदै गर्न थालेपछि भने बल्ल रमाइलो अनुभव भएको सुनाइन् । ‘पछि डर भुलियो, अर्कै संसारमा डुबुल्की मारिरहेको जस्तै आग्यो ।’ उनले भनिन् ।


ज्योतिजस्तै भक्तपुरबाट आएकी रोजिना श्रेष्ठले ‘कोर्पिरेटिभ’ टिम लिएर र्‍याफ्टिङको आनन्द लिन आएको सुनाइन् । ‘विदेशीसहित हाम्रो ५० जनाको टोली छ,’ उनले भनिन्, ‘अब गर्मी सुरु भयो यसकै लागि बिदाको समय मिलाएर समूह बनेर आयौ ।’ शुक्रवार र शनिवार यहाँका रिसोर्ट भरिने गरेकोले पहिल्यै बुक गरेर आएको उनले सुनाइन् । रोजिनाले यसअघि पनि र्‍याफ्टिङ गरेकी थिइन् । त्यति बेलाको मज्जा सम्झँदै उनी फेरि सुनकोसी आइपुगेकी हुन् । ‘पहिला धित नै मरेन, त्यसैले फेरि आएँ ।’ उनी भन्छिन् ।
सिन्धुपाल्चोकको सुकुटेमा गर्मी बढेसँगै साहसिक खेल र्‍याफ्टिङ रमाउने आन्तरिक तथा बाह्य पर्यटक अहिले ह्वात्तै बढेका छन् । गएको फागुनदेखि पर्यटकको चाप बढेको रिसोर्ट सञ्चालकहरु बताउँछन् । पछिल्लो हप्तादेखि अत्याधिक गर्मी बढेका कारण र्‍याफ्टिङ गर्ने पर्यटकमा बृद्धि भएको हो । साहसिक खेल र्‍याफ्टिङ र क्यानोनिङ गर्ने पर्यटकको संख्या दैनिक बढिरहेकाले यहाँका सबै रिर्सोट व्यस्त भएको सुकुटे बिच एड्भेन्जर रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापा बताउँछन् । ‘दैनिक एक सय भन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन्,’ थापा भन्छन्, ‘यो समय र्‍याफ्टिङको सिजन भएकाले अब चाप झनै बढ्ने अनुमान छ ।’
र्‍याफ्टिङकै लागि सिन्धुपाल्चोकमा हप्ता दिनमा कम्तीमा दुई हजार पर्यटक भित्रिने गरेका छन् । राजधानीदेखि युरोप, अमेरिकाजस्ता बाह्य मूलुकबाट आउने पर्यटकको लक्ष्य भोटेकोसी र सुनकोसीमा र्‍याफ्टिङ गर्ने हुने गरेको छ । पर्यटक बढेसँगै सिन्धुपाल्चोक र काभ्रेको सीमा गाउँ बन्देउदेखि रिसोर्टको संख्यामा समेत बृद्धि भएको छ । सुनकोसी र भोटेकोसी किनारामा र्‍याफ्टिङ सञ्चालन गर्ने रिसोर्ट बढेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित