चाैतारा रंगशाला निरीक्षण गर्दै मुख्यमन्त्री जम्कट्टेलले भने – अलपत्रै पारेछन् नि !

चाैतारा रंगशाला निरीक्षण गर्दै मुख्यमन्त्री जम्कट्टेलले भने – अलपत्रै पारेछन् नि !

फरक पत्रिका

सोमबार, बैशाख १० २०८१

चाैतारा रंगशाला निरीक्षण गर्दै मुख्यमन्त्री जम्कट्टेलले भने – अलपत्रै पारेछन् नि !

सिन्धुपाल्चोक । सोमबार वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल सिन्धुपाल्चोकको सदरमुकाम चाैतारा आईपुगे । एक पुल उद्घाटनकाे सिलसिलामा यहाँ आईपुगेका उनले चाैताराकाे टुँडिखेलमा निर्माणाधीन रंगशालाकाे निरीक्षण गरे अनि भने ‘अलपत्रै पारेछन् नि ।’
मुख्यमन्त्री जम्कट्टेल संघीय सांसद माधव सापकाेटा, प्रदेश सांसद अमृता नेपालसहित चाैतारा आईपुगेका हुन् । मुख्यमन्त्री जम्कट्टेलले टुँडिखेलमा भने, ‘याे पाँचवर्षअघि गाैरवकाे आयाेजना भनेर सुरू गरिएको हो, अहिले काम हेर्दा लाजैमर्नु देखियाे ।’
मुख्यमन्त्री जम्कट्टेलले प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यलाई रंगशाला निर्माण कार्यलाई अगाडि बढाउन पहल गराउन निर्देशन दिए ।
चौतारा टुँडिखेलमा निर्माणाधीन मिनी रंगशालाको काममा ढिलासुस्तीको कारण विगत ५ वर्षदेखि चौतारामा फुटबल लगायतको खेलकुद गतिविधिहरु सञ्चालन हुन नसकेको अवस्था छ । स्थानीय युवाहरुको एउटा पुस्ता नै खेलकुद गतिविधिबाट पलायन हुने अवस्था सिर्जना भएको चौतारा स्पोर्टिङ्ग क्लवका सचिव राकेश रानाले मुख्यमन्त्री जम्कट्टेललाई जानकारी गराए । रानाले अहिले लामाेसाँघुमा भईरहेकाे जिल्ला लिगका लागि खेलाडीलाई यही धुलै मैदानमा प्रशिक्षण गर्न बाध्य भएकाे सुनाए ।
करिब डेढ दशकअघि सिन्धुपाल्चोकको चौतारास्थित टुडिँखेलमा निकै बाक्लो दर्शकका बीच हरेक खेलहरु हुन्थे । खेलहरुमध्ये फुटबल खेलको रौनक छुट्टै हुन्थ्यो । यहाँ हुने गरेका प्रतियोगितामा सिन्धुपाल्चोकका विभिन्न स्थानबाट मात्रै नभई दोलखा, रामेछाप, काभ्रेलगायतका जिल्लाबाट पनि खेलाडीहरुले सहभागिता जनाउँथे । यहाँ हुने गरेका प्रतियोगिताबाट स्थानीयस्तरमा निकै प्रतिभाशाली खेलाडीहरु उत्पादन पनि भए ।
त्यतिबेला लयमा रहेको फुटबल खेलहरु बिस्तारै ओरालो लाग्दै गए । खेलहरु हुन छाड्यो, खेलाडी उत्पादन पातलियो । कारण थियो खेलका मैदान अभाव ।
पछि टुँडिखेलमा रंगशाला बन्ने भयो । खेलप्रेमी उत्साहित बने । फुटबल खेलले गति लिनेमा सबै विश्वस्त भए । तर, रंगशालाको निर्माण निकै सुस्त हुँदा खेलाडीहरूलाई निरास बनाएकाे चाैतारा स्पाेर्टिङ क्लबका अध्यक्ष सविन श्रेष्ठले सुनाए।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित