भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देश बीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्व दिएको बताइन् ।
भेटमा मन्त्री चौधरीले भनिन्,‘यो वर्ष हामीले कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा गरेकोमा खुशी लागेको छ । प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकार भनेको हामीले फिनल्याण्डसँग खुसीसाथ साझा गर्ने मूल्यहरू हुन् । दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्न उच्चस्तरीय भ्रमणको आदानप्रदान आवश्यक छ ।’
मन्त्री चौधरीले सामाजिक–आर्थिक स्थिति, विशेष गरी नेपालको ग्रामीण समुदायहरूको उत्थान गर्ने प्रयासहरूमा फिनल्याण्डको सहयोग नेपालको लागि फलदायी हुने विस्वास ब्यक्त गरेकी छिन् । साथै, उनले कोभिड १९ को कठिन समयमा नेपाललाई सहयोगको हात बढाएकोमा फिनल्याण्ड सरकार र जनतालाई धन्यवाद पनि दिएकी छिन् ।
नेपाल सन् २०२६ मा एलडीसी स्थितिबाट उत्तीर्ण भई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा रहेको बताउँदै मन्त्री चौधरीले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्न नेपाल प्रयासरत रहेको पनि उल्लेख गरिन् । ‘हामी फिनल्याण्डले विभिन्न बहुपक्षीय फोरमहरूमा जलवायु एजेन्डाहरू प्राप्त गर्ने तरिकाको प्रशंसा गर्छौं । नेपालले जलवायु एजेन्डा विशेष गरी हिमाली एजेन्डालाई जलवायुसम्बन्धी फोरमहरूमा पनि वकालत गर्दै आएको छ’, मन्त्री चौधरीले भनिन् ।
भेटमा राजदुत रिना रिक्का हेक्काले नेपाल र फिनल्याण्ड बीचको सम्बन्ध प्रगाढ बनाउन द्विपक्षीय विकासका लागि सहकार्य गरेर जाने बताइन् ।