सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ३, खुतुमेडाँडामा एक मजदुरको मृत्यु भएको छ । सडक निर्माणमा खटिएका मजदुरको आज मृत्यु भएको हो ।
मृत्यु हुनेमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–७ घर भएका अन्दाजी ६४ वर्षीय ईमान सिंह तामाङ रहेको प्रहरीले जनाएको छ ।आइतबार राति साढे १० बजे खाना खाने क्रममा तामाङ अचानक ढलेर बेहोस भएका थिए। बेहोस भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि मेलम्ची नगर अस्पताल पुर्याइएको थियो। तामाङ सिद्धिकाली कन्ट्रक्सन एण्ड प्रा।लि। अन्तर्गत खुतुमेडाँडा सडक खण्डमा कामदारको रुपमा कार्यरत थिए। घटनाबारे उक्त कन्ट्रक्सनका सडक साइट सुपरभाइजर सविन खड्काले प्रहरीलाई खबर गरेका थिए।
अस्पतालमा परीक्षणका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घटनाको समयमा मृतकका छोरा विनोद तामाङ पनि उनीसँगै रहेका थिए।
खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी निरीक्षक मधु खड्काको कमाण्डमा प्रहरी टोली खटिएको थियो।
प्रहरीले घटनाको थप मुचुल्का तथा अनुसन्धान गरिरहेको जनाएको छ ।