निर्वाचन प्रहरीको तालिम सुरू, के हुन्छ व्यवस्था ? 

निर्वाचन प्रहरीको तालिम सुरू, के हुन्छ व्यवस्था ? 

फरक पत्रिका

सोमबार, माघ २० २०८२

निर्वाचन प्रहरीको तालिम सुरू, के हुन्छ व्यवस्था ? 

सिन्धुपाल्चोक । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी खटाइएको छ । प्रहरीहरूलाई हरेक जिल्लामा छनाेट पछि तालिममा सहभागी गराइएको हो ।
निर्वाचन प्रहरीलाई यसअघि म्यादी प्रहरीका रूपमा भर्ना गरिएको थियो । तर, यसपालि म्यादी शब्दले भर्ना हुन आउने युवाहरूको स्वाभिमानमा आँच पुग्ने निष्कर्ष निकाल्दै गृह मन्त्रालयले यो पटक निर्वाचन प्रहरी राख्ने निर्णय गरेको हो ।
निर्वाचन प्रहरीमा भर्ना भएकाहरूले प्रहरी/सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलब समान पाउनेछन् । त्योबाहेक लत्ताकपडा तथा जवान सरहको रासन भत्ता दिइने व्यवस्था ‘निर्वाचन प्रहरी भर्ना छनौट नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ मा उल्लेख छ ।
जसअन्र्तगत निर्वाचन प्रहरीलाई ४० दिनको ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेट निर्धारण समितिले तोकेअनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक), निर्वाचनमा खटाइएको ठाउँमा जान र फर्किनलाई एक पटकका लागि प्रतिव्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता)को व्यवस्था छ ।
यसरी नै निर्वाचनको चार दिनका लागि प्रतिदिन ३०० रुपैयाँका दरले खाजा खर्चबापत एकमुष्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्च उपलब्ध हुने छ ।
यसरी दिइने सबै रकम सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा पठाइने छ । निर्वाचनमा खटिएको बखत घाइते तथा मृत्यु भएमा सरकारले तोकेअनुसारको क्षतिपूर्ति रकम नजिकको हकवालालाई उपलब्ध गराइने छ ।
निर्वाचनअगावै तोकिएको स्थानमा नगई गैरहाजिर हुने, जिम्मेवारी पूरा नगरी भाग्नेलाई तोकिएका कुनै पनि सुविधा पाउनेछैनन् । निर्वाचन प्रहरी भर्ना र परिचालन गर्न अर्थ मन्त्रालयले प्रहरीलाई सात अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित