किसानका पीडा : खेतमा पानी छैन, बजारमा मल

किसानका पीडा : खेतमा पानी छैन, बजारमा मल

फरक पत्रिका

बिहिबार, साउन २ २०८२

किसानका पीडा : खेतमा पानी छैन, बजारमा मल

सिन्धुपाल्चोक । अघिल्ला वर्षहरुमा असार पहिलो सातामै रोपाईं सक्ने गरेका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ६ का रामबहादुर थापाले अझै आफ्नो खेत हिल्याउन पाएका छैनन् । असार आधाबाट आफ्नो सकेर अरुको पर्ममा लाग्ने ले परेका उनले पानी र मल अभावकै कारण रोपाई गर्न नपाएका हुन् ।

उनको खेतमा रोपाईं गर्न आकासे पानीको भर पर्नुपर्ने हुन्छ । पर्याप्त पानी परेर नजिकका खहरे खोल्सामा मुल खुलेको खण्डमा मात्रै उनको खेतमा रोपाईं हुने हुँदा यो वर्ष पानी नपरेकै कारण उनलाई समस्या परेको हो ।

मानो रोपेर मुरी उब्जाउने लक्ष्य राखेर खेतको हिलोमा रमाउने थापा मात्रै हैनन् जिल्लाका अधिकांश किसानले अहिले रोपाईं गर्न पाएका छैनन् । समयमै राखेको धानका विऊ बढेर ठूलो भइसक्दा पनि पानी र मलको अभाव झेलिरहेका किसानहरुलाई समस्याले गिजोलेको हो ।

‘साउन लागिसक्यो, अझै रोपाई गर्न सकिएन,’  फुर्सदिला रहेका उनले भने, ‘खेतमा पानी छैन, बजारमा मल ।’ उनले हल्का पानी पर्दासमेत सामान्य मुल खुल्दा आफूले रोपाईं अघिल्लो वर्ष असार दोस्रो सातामै सकेको बताए । ‘अहिले दिनहुँ आकाश हेर्नुपर्छ, पानी पर्ने संकेत देखियो भने पनि मलको चिन्ता रोपाईंका लागि अर्काे बाधा बनेर आउँछ ।’ उनले भने ।

जिल्लामा पानी हल्का मात्रै पर्ने गरेको छ । अहिले परेको पानीले राम्रोसँग माटो पनि भिज्दैन । पर्याप्त पानी नपरेका कारण पानीको मुल खुल्न नसक्दा किसानहरु चिन्तित बनेका हुन् । ‘अहिले सबै गाउँवासी धान रोपाईं गर्दै खेतमा व्यस्त रहने समय हो,’ धान उत्पादनका हिसाबले अब्बल मानिएको जलवीरस्थित ब्रम्हायणी करिडोरका कृष्णकुमार थापा भन्छन्, ‘पानी भए पनि रोपाईका लागि आवश्यक पर्ने मल बजारमा नपाउँदा समस्या भइरहेको छ ।’ मल पाइएमा अस्थायी सिंचाई गरेर भएपनि रोपाईं गर्ने बताउँदै उनले किसानको समस्याप्रति सरोकारवाला संवेदनशील हुनुपर्नेमा जोड दिए ।

धान रोप्नुअघि किसानले खेत हिल्याउने बेला युरिया र डीएपी मल हाल्ने गर्छन् । धान रोपिसकेपछि युरिया र पोटास मल हाल्ने गरिन्छ । रासायनिक मल एक पटक हालेपछि वर्षेनि सन्तुलन मिलाएर हाल्नैपर्ने हुन्छ । तर, गाउँवासीले मल नपाउँदा अहिले जिल्लामा रोपाईं हुन नसकेको हो । किसानलाई  आवश्यक पर्ने मल नहुँदा रोपाई हुन नसकेको हो ।

‘पानी पनि परेको छैन, किसानले मल पनि नपाउँदा रोपाईं हुन नसकेको हो,’ साँगाचोकका राजन गिरी भन्छन्, ‘किसानलाई गरि खान निकै गाह्रो छ ।’

सम्बन्धित स्थानीय तहबाट कृषि सम्बन्धी सहकारीहरुले मल वितरण गर्ने इजाजत लिन्छन् । त्यसलाई मकै जोनले सिफारिस दिने गर्दछ । सहकारीले काभ्रेमा रहेको कृषि ज्ञान केन्द्रबाट मल ल्याउनुपर्ने सम्बन्धित स्थानीय तह अन्तर्गत रहेको कृषि शाखाले जनाएको छ । ‘मल किन्न सजिलो छैन । गाउँबाट आएकालाई चाहिने मल दिँदैनन् । मल नपाएपछि कसरी धान रोप्नु ?, ‘किसानहरु प्रतिप्रश्न गर्छन्,  ‘एकातिर धान रोप्ने पानी परेको छैन अर्कातिर मल पाईंदैन ।’

आकासे पानीको भर पर्नुपर्ने किसानहरुले रोपाईंको आश मारिसकेका छन् । पानी परेर मुल खुलिहाले पनि उनीहरु आफूले मल नपाउनेमा ढुक्कजस्तै भएकाले यो वर्ष रोपाईं गर्न नसकिने भन्नेमा छन् । मल अभावकै कारण खोलाको पानी लाग्ने जग्गामासमेत रोपाईं हुन सकेको छैन ।

जिल्लाको अन्य स्थानीय तहसँगै पानी लाग्ने इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिकामासमेत अपेक्षाकृत रोपाईं हुन सकेको छैन । आकासे पानीमै निर्भर रहनुपर्ने चौतारा साँगाचोकगढी नगरपालिका, लिसंखुपाखर गाउँपालिका, त्रिपुरासुन्दरी, लिसंखुपाखर, सुनकोशी गाउँपालिकामा रोपाईंको रौनक नै छैन ।

तथ्यांकअनुसार जिल्लामा १२ हजार २ सय ३५ हेक्टरमा धानबाली लगाइने गरिएको छ । सो मध्ये कुल धानीबाली लगाईने फाँटमध्ये ३ हजार २ सय ५९ हेक्टरमा चैते धान पनि लगाईन्छ । पर्याप्त पानी हुने हुँदा चैते धान लगाएका किसानहरुले पनि यो वर्षको बर्खे धान लगाउन व्यस्त छन् ।

अघिल्ला वर्षको तुलनामा यो वर्ष मल र पानीका कारण अधिकांश जमिन बाँझो रहने सम्भावना देखिएको छ । जिल्लामा प्रति हेक्टर औसत २.३३ मेट्रिक टन धान उत्पादन हुन्छ । तर, यो वर्ष रोपाईं भएपनि ढिला हुने र मलका साथै पानी नभएकाले उत्पादनमा गिरावट आउन सक्ने देखिएको छ । जिल्लाका फाँटमा खुमलचार, मकवानपुरे–१ लगायत उन्नत जातका धान बीऊ लाग्दै आएको छ । स्थानीय जातका धान बीऊसमेत लाग्ने भएपनि उन्नत जातका बीऊले जमिन ढाक्दै गएको छ । तथ्याङ्कअनुसार जिल्लाको भीमटार, मांहाकाल, तिपेनी, जलबीर, बतासेलगायत मेलम्ची र इन्द्रावती करिडोरमा अन्य ठाउँको तुलनामा धान उत्पादन बढी हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित