सिन्धुपाल्चोक । विं स. २०७७ सालमा मेलम्ची नगरपालिका वडा नं. ९ को गुफाडाँडामा प्रथम जलवायु सम्मेलन गरियो । देशभरका ७७ वटै जिल्लाको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो। आयोजक थियो जिल्ला समन्वय समिति सिन्धुपाल्चोक । तत्कालीन जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले समन्वय गरेको कार्यक्रममा देशभरका समन्वय प्रमुखहरु उपस्थिति भएपछि गुफाडाँडाले राष्टिय रुपमै चर्चा पायो । त्यतिबेलादेखि सुरु भएके चर्चा अझै चुलिँदै पनि छ ।
काठमाडौँबाट ५४ किलोमिटरमा रहेको गुफाडाँडामा सोही बखत वातावरण र पृथ्वीलाई जोखाउनुपर्छ भन्ने सन्देश दिने खालको मानिसले पृथ्वी बोकेको प्रतिमा राखिएको छ। प्रतिमासम्म पुग्नका लागि सिँढी र सिँढी दायाबायामा ७७ जिल्लाको नाम र नेपालको झण्डा निर्माण गरिएको छ। सोपश्चात भ्यूटावर र अन्य पूर्वाधारको कामको थालनी भएको छ। । सम्मेलनले जलवायुसम्बन्धी १० बुँदे घोषणापत्रसमेत जारी गरेको थियो । सो घोषणापत्रमा उल्लेख गरिएका बुँदाहरु हालसम्म पनि कार्यान्वयनमा नआएको स्थानीय सरोकारवालाहरुले गुनासो गरेका छन् । त्यसयता हरेक वर्ष यहाँ जलवायू दिवशसमेत मनाइँदै आइएको छ ।
जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ मा पूर्वाधारका लागि उचित बजेट विनियोजन नहुँदा ओझेलमा परेको छ । राज्यका उच्च पदस्थहरू आएर जनता माझमा गरेका प्रतिबद्धताहरू पूरा नगर्दा पर्यटकीय स्थल नै ओझेलमा परेको स्थानीय सरोकारवालाहरूले गुनासो गरेका हुन् ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुफाडाँडाको पर्यटकीय सम्भावनालाई प्रदेश र संघ सरकारले उचित ध्यान दिन नसकेको गुनासो गरे । ‘मुख्यमन्त्रीदेखि मन्त्रीहरूसम्म यहाँ आएर जनताको माझमा गरेका प्रतिबद्धताहरू अझै पूरा भएका छैनन् । यसले देखाउँछ कि प्रदेश सरकारले जनतालाई झुटा आश्वासनमात्र दिएको हो’, उनले भने ।
उनले गुफाडाँडालाई प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक महत्त्वले भरिपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावनालाई औँल्याउँदै राज्यको चासो र लगानीको खाँचो रहेको बताए । सम्पादक समाज नेपालले मेलम्ची नगरपालिकाको आतिथ्यमा मेलम्ची–९ स्थित गुफाडाँडामा शनिबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मेलम्ची–९ का वडाध्यक्ष किरणदीप खड्काले गुफाडाँडाको महत्त्व र हालसम्म भए गरेका कामका बारेमा जानकारी गराए। उनले तीन तहका सरकारमध्ये स्थानीय तहले मात्र चासो दिँदा पर्यटकीय संख्यामा उल्लेख्य वृद्धि नभएको र अझै थुप्रै संरचना बनाउन आवश्यक रहेको बताए ।
सम्पादक समाज नेपालका सस्थापक अध्यक्ष किरण वैद्य र महासचिव श्याम डोटेलले ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ विषयक अन्तरक्रियाले यस भेगको समस्या र चिन्तालाई बाहिर ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले तीन तहका सरकारबीच सहकार्य र समन्वय नहुँदा कतिपय काम ओझेलमा पर्ने गरेको बताउँदै त्यसको उदाहरणका रूपमा गुफाडाँडालाई लिन सकिने बताए ।
पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको उक्त स्थानमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि जनचेतना जगाउने ध्येयले ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ भन्ने नाराका साथ पत्रकार पदयात्रा–२ आयोजना गरिएको हो ।