सातादेखि अरनिको राजमार्ग ठप्प, यस्ता छन् सडकका अवस्था

सातादेखि अरनिको राजमार्ग ठप्प, यस्ता छन् सडकका अवस्था

फरक पत्रिका

शुक्रबार, असार ६ २०८२

सातादेखि अरनिको राजमार्ग ठप्प, यस्ता छन् सडकका अवस्था

सिन्धुपाल्चोक । तातोपानी नाका जोड्ने अरनिको राजमार्ग पछिल्लो एक सातादेखि ठप्प छ । विभिन्न स्थानमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा राजमार्ग ठप्प भएको हो ।
असार १ गते राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका– २, कोदारीमा पहिरो गएको थियो । त्यो खुलाउन नपाउँदै फेरि असार ३ गते वडा नम्बर २ को कोप्लाङ र ३ को लार्चामा पहिरो खस्दा अवरुद्ध बनेको हो । प्रहरीकाअनुसार सो पहिरोबाट अहिलेसम्म पनि सडक खुलाउन सकिएको छैन । कोदारीमा जमिन भासिएर नदीमा मिसिएको हो । त्यहाँ सडक उठाउन अझै सकिएको छैन ।

पहिरो जाने क्रम नरोकिएकाले थप समस्या उत्पन्न भएको व्यवसायी अर्जुन सापकोटाले बताए । करोडौं राजस्व उठ्ने नाका जोड्ने सडकको यो अवस्था हुनु निकै दयनीय कुरा भएको भन्दै केही महिनाअघि मात्रै सडकको मर्मत गरिएको भए यस्तो अवस्था नआउने उनको भनाइ छ ।

त्यस्तै, तातोपानीको कोप्लाङमा केही हप्ताअघि उकासेको सडक पुनः भासिएको छ । नेपाल–चीन सिमानाबाट तातोपानी छिचोल्ने सडक पूर्ण बन्द छ । लार्चास्थित भोटेकोशी नदीमा हालेको ह्युमपाइप बगाएकाले नदी पार गर्न सकिने अवस्था छैन । सो स्थानमा बेलिब्रिज तयार भइसकेको छ । तर, वारिपारिको सडक बेलिब्रिजसम्म तयार भएको छैन । बेलिब्रिज चालू हुन केही दिन लाग्छ ।

खोकुन्डोल, डाक्लाङ, चाकु र नयाँपुलआसपास सडक जीर्ण छ । पहिरोको उत्तिकै जोखिम छ । बाह्रबिसे नगरपालिकाभित्र बसेरी, जम्बु, खागदल र जुरेमा पहिरोको जोखिम रहेको छ । बाह्रबिसेदेखि लिपिङसम्म २६ किलोमिटर सडकखण्ड बाढी र पहिरोको उच्च जोखिममा छ । बुधबार र बिहीबारको वर्षाले बसेरी र जुरेमा सडक बगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित