• ट्रेण्डिङ :

के अहिले चौतारा अस्पतालको उपचारसेवा सुध्रिएको हो ?

के अहिले चौतारा अस्पतालको उपचारसेवा सुध्रिएको हो ?

फरक पत्रिका

बिहिबार, साउन २४ २०८१

के अहिले चौतारा अस्पतालको उपचारसेवा सुध्रिएको हो ?

सिन्धुपाल्चोक । सदरमुकाम चौतारामा रहेको जिल्ला अस्पतालबाट हुने उपचार सेवा आधुनिक भवन बनेसँगै सुध्रिएको भन्ने चर्चा अहिले चुलिँदो छ ।
तर, आम सर्वसाधारण या भनौं सेवाग्राही यसलाई त्यति सजिलै विश्वास गर्न भने सक्दैनन् कारण हो यसअघि अस्पतालबाट हुने उपचारसेवा ।

यसअघि बिरामी वा आफन्त दाबी गर्दथे कि अस्पतालका कर्मचारीले बिरामीलाई राम्राे उपचार गर्दैनन् । कराउँछन्, हप्काउँछन् । यसैकारण सेवा क्षेत्र पर्ने बिरामीहरू सिधै धुलिखेल या राजधानी पुग्ने गर्दथे । सबैको एउटै भनाई हुन्थ्यो-“चौतारा अस्पताल गए कि मरिन्छ या बिरामी बिसको उन्नाइस हुँदैन।”

२०७२ साल बैशाख १२ गतेको भूकम्पले अस्पतालकाे भवन ध्वस्त बनायो । खुला चाैरमा बिरामीकाे उपचार गर्नुपर्ने बाध्यता बन्याे । केही समय टुडिखलकाे चाैरमा अस्पताल सञ्चालन गरियाे । पछि चौतारा अस्पताल नौ वर्षसम्म साँगुरो अस्थाइ टहरोबाट सञ्चालन हुँदै आएको थियो । पर्याप्त जनशक्ति र प्रविधिको अभावसँगै साँगुरो कोठाबाट सञ्चालन हुँदै आएको यो अस्पतालमा भरभर्दो उपचार नभएको भन्द स्थानीयहरु सामान्य रोगको उपचारका लागि पनि धुलिखेल वा राजधानीका अस्पतालमा धाउने गर्थे ।

तर अहिले नयाँ आधुनिक भवन बनेसँगै सेवा प्रवाहमा पनि सुधार भएको विभिन्न सञ्चारमाध्यमहरूले पनि उल्लेख गरेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका-६ गौरतीका रोमन तामाङ चौतारा अस्पतालले श्रीमती मुनाको निःशुल्क शल्यक्रिया गरी बच्चा जन्माइदिएपछि फुरुङ्ग परे । पहिलो सन्तान जन्माउन उनले गर्भवती श्रीमतीलाई लिएर धुलिखेल नै पुग्नुपरेको थियो । अहिले चौतारामै सेवा पाएपछि तामाङ परिवारले अस्पतालको अवस्था फेरिएको महसुस गरेको छ ।
जितपुरकी जमुना गिरीले विगतमा ढाड र दमको उपचार गराउन काठमाडौंका विभिन्न अस्पताल धाइन् । अहिले चौतारा अस्पतालमै सेवा लिएकी छन्। यो अस्पतालले अहिले विशेषज्ञ चिकित्सकसहितको आधुनिक सेवा दिन थालेपछि उनलाई काठमाडौं धाउनुपर्ने बाध्यता हटेको हो ।

यो अस्पताल पाँच वर्षअघिसम्म रेफर सेन्टरको रुपमा परिचित सिन्धुपाल्चोकको चौतारा अस्पताल अहिले सुविधा-सम्पन्न बनेको छ । सामान्य रोगका बिरामीको समेत उपचार गराउन नसक्ने अवस्थामा पुगिसकेको यो अस्पताललाई चीन सरकारले सहयोग गरेपछि अहिले आधुनिक सेवा दिन सक्षम भएको हो । अस्पतालको सुविधा सम्पन्न नयाँ भवन मात्र बनेको छैन, विशेषज्ञ चिकित्सकबाट विभिन्न रोगको शल्यक्रियासमेत यहिँबाट हुन थालेको हो ।

फिजियोथेरापी र सुत्केरी गराउने महिलाहरु अहिले चौतारा अस्पतालमा नै उपचार गराउन आकर्षित भएका छन् । नियमित फिजियोथेरापी गर्न धुलिखेल वा काठमाण्डौं धाउँदै आएका विरामीहरुले अहिले चौतारा अस्पतालबाट नै सेवा लिन थालेका छन् । सुत्केरी महिलाहरुका लागि शल्यक्रिया सेवा सुरु भएपछि चौतारा अस्पतालमा सुत्केरी गराउने महिलाहरुको पनि चाप बढ्न थालेको अस्पतालले जनाएको छ ।

चौतारा अस्पतालको स्तरोन्नति गर्न चीन सरकारले सहयोग गरेको हो । अहिले अस्पताल पुग्नेहरुले सहजै उपचार पाउन थालेका छन् । पछिल्लो समय हाडजोर्नी, फिजियोथेरापी र दुई वटा शल्यक्रिया कक्ष र बालबालिका लागि एस एन सियु र एन आइ सियु सेवासमेत थप भएको छ । प्रविधियुक्त अस्पतालमा नयाँ भवन र उपचार राम्रो भएपछि बिरामीको चाप पनि बढेको छ ।कहिले औषधि त कहिले चिकित्सकको अभाव झेलिरहने यो अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकसहितको ५० शैयाको बनेको हो।

अस्पतालमा भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष तयार भएको छ् । भुइँतलामा चार सय ५० केभी पावर जेनेरेटर र मेडिकल वेस्ट वाटर प्रोसेसिङ उपकरण पनि जडान गरिएको छ ।

त्यस्तै फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी पुनर्वास कक्ष, पोषण भान्सा, ड्युटी रुम, बहिरंग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेसन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्षको समेत व्यवस्था गरिएको छ ।

पहिलो तलामा नर्सिङ स्टेसन, २९ शैयाको अन्तरंग विभाग, सो क्लासरुम, सात शय्याको प्रसूति विभाग, दुई अपरेटिङ कक्ष, रिकभरी कक्ष, नवजात शिशु स्याहार मेसिन, फोटो थेरापी उपकरण, बालबालिका उपचार कक्ष, पुरुष र महिलाका लागि छुट्टाछुट्टै ड्रेसिङ कक्ष, मेडिकल स्टाफ आराम कक्ष छन् । दोस्रो तलामा प्रशासनिक कार्यालय, तालिम हल, गतिविधि कक्ष, अप्रेसन डिपार्ट, पुस्तकालय, सम्मेलन रुम, अस्पताल निर्देशक कक्ष र मेडिकल डकुमेन्ट रुम छन्। तेस्रो तलामा पानी प्रशोधन कक्ष जहाँ कार्बन र बालुवा फिल्टर मेसिन छन्। अप्रेसन कक्षका लागि स्वच्छ हावा तयार पार्ने मेसिन र दुईवटा ठूला लुगा धुने मेसिन राखिएका छन्।

सबै तलामा अत्याधुनिक अपरेटिङ सिस्टम जडान गरिएको छ भने थप तीन वर्षसम्म चिनियाँ प्राविधिक टोली अस्पतालमै रहने र उनीहरूले मेसिन र अपरेटिङ सिस्टम सिकाउने अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित