यार्सा टिप्न पहिलोपटक चीनको हिमाली भेग उक्ले सिन्धुपाल्चोकका बासिन्दा

यार्सा टिप्न पहिलोपटक चीनको हिमाली भेग उक्ले सिन्धुपाल्चोकका बासिन्दा

फरक पत्रिका

बुधबार, जेष्ठ २३ २०८१

यार्सा टिप्न पहिलोपटक चीनको हिमाली भेग उक्ले सिन्धुपाल्चोकका बासिन्दा

सिन्धुपाल्चोक । चिनियाँ सरकारले अनुमति दिएसँगै नेपाल–चीन सीमागाउँका बासिन्दा वैधानिक रुपमा यार्सागुम्बा टिप्न पहिलोपटक चीन छिरेका छन् । न्यालाम जिल्लाले सीमा छोएको सिन्धुपाल्चोकवासीका लागि अनुमति दिएपछि तातोपानी, लिस्ती, फुल्पिङकट्टीलगायतका बासिन्दा यार्सा टिप्न चीनको हिमाली भेग पुगेका हुन् ।
अहिले चीन सरकारले सीमा छोएका नेपालका जिल्लावासीलाई मात्रै प्रवेश अनुमति दिएको छ । यहाँका बासिन्दा चिनियाँलाई नै ‘बिजनेस पार्टनर’ बनाएर चीनको उच्च हिमाली भेग पुगेका हुन् । यसअघि नेपाली यार्सा संकलकलाई चिनियाँ क्षेत्रमा गएर र्यासा टिप्न बन्देज थियो । तर, सीमा क्षेत्रमा बसोबास गर्ने बासिन्दा भने झुक्याएर चीन प्रवेश गरी लुकिछिपी यार्सा संकलन गर्ने गरेका थिए ।
यो सिजनमा भने चिनियाँ पक्षले नै नेपाली अझ भनौं सिन्धुपाल्चोकका बासिन्दालाई यार्सा टिप्न जान अनुमति दिएको तातोपानी अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन सहायक दिनेश बराईले बताए । अहिले सर्वसाधारणकै नागरिकताअनुसार दिइएको अनुमति पत्रलाई आधार मानेर पास दिएलगत्तै गाउँ नै खाली गरेर सीमावासी चीनको लेक पुगेको उनले जानकारी दिए ।
चीनको उच्च हिमाली भेगमा पाइने यार्साको बजारमा राम्रो मूल्य आउने गरेको संकलकहरु बताउँछन् । चीनको उच्च भेगमा पर्ने गौरीशंकर हिमश्रृंखला र पर्वतको फेदीस्थित लाप्ट ,रेल्दोन, मानचौरजस्ता स्थानमा उच्च गुणस्तरको यार्सा पाइन्छ । त्यहाँको मूल्य राम्रो आउने भएकाले सिन्धुपाल्चोकका बासिन्दा जोखिम मोलेर भएपनि यसअघि यार्सा टिप्न चीन पुग्ने गरेका थिए ।
सीमा जोडिएका चीनको न्यालाम, खासाका चिनियाँसमेत अहिले लेक पुगेका छन् । उनीहरुले नेपालीलाई साथ लिएर यार्सा टिप्न गएपछि तातोपानी नाकामा हुने चहलपहल घटेको तातोपानी अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन सहायक दिनेश बराई बताउँछन् । उनकाअनुसार नाकाको छेउछाउ व्यापार गर्ने व्यवसायीहरु नै यार्सा सकंलन गर्न लेक गएका छन् । सीमामा पर्ने सिन्धुपाल्चोकको तातोपानी, लिपिङ बजार र चीनतर्फको खासा बजार लगभग शून्यप्रायः भएको उनले स्वीकार गरे ।
भूकम्पपछि खुल्दै अनि बन्दै हुँदै गरेर अस्थिर रहेको तातोपानी नाका केही समयअघि मात्रै पूर्ण रुपले सञ्चालनमा आएको थियो । त्यसयता तातोपानी र खासामा व्यापार गर्ने व्यवसायीहरु बढेका थिए । तर, अहिले यार्साको सिजन सुरु भएलगत्तै फेरि बजार सुनसान बनेको हो । अहिले सीमा गाउँका अधिकांश पसल तथा होटलहरु ठप्प जस्तै देखिएको भोटेकोशी चेम्बर अफ कर्मसका अध्यक्ष फुनु शेर्पाले बताए । ‘सीमा छेउमा वारिपारीमा केही पसल त खुलेका छन् तर त्यहाँ न व्यापार भएको देखिन्छ न ग्राहक नै छन्,’ उनले भने, ‘अधिकांशहरु व्यापार गर्न भनेर बसेकाहरु पसल नै बन्द गरेर लेक उक्लेका छन् ।’
अहिले मितेरी पुलको यार्डमा चीनबाट आयात गरिएका सवारीले भरिएका कन्टेनर छन् । थोरै सर्वसाधारण धेरै सुरक्षाकमीको उपस्थिति देखिन्छ । चीनको खासा, रमिते, पाङका स्थानीयले मितेरी पुलभन्दा पर रहेका चीन क्षेत्रको बजारमा झण्डै दुई दर्जन पसल संञ्चालनमा ल्याएका थिए । तर अहिले धेरैजसो बन्द रहेको शेर्पाले सुनाए ।
चीनको उच्च भेगमा यार्सा टिप्न वैशाखको अन्तिम साताबाट सिजन सुरु हुन्छ । हालसम्म नेपाली भूमिबाट मात्रै एक हजारभन्दा बढी यार्सा टिप्नकै लागि चीन पसेको प्रारम्भिक अनुमान गरिएको अध्यागमन कार्यालयले जनाएको छ । यसअघि विभिन्न जिल्लासहित राजधानी र सीमाक्षेत्रका गरी सिंगो सिजनमा झण्डै तीन हजार भन्दा बढी यार्सा संकलक लेक क्षेत्र पुग्ने गर्ने गरेको अनुमान गरिने गरिएको थियो ।
भूकम्पपछि अस्थिर रहेको तापानी पूर्ण रुपमा खुलाउन नेपाल पक्षबाट निकै पहल गरिएको थियो । स्थानीय जनप्रतिनिधिदेखि सरकारसम्मले यो नाकालाई पूर्ण रुपमा खुलाउन पहलकदमी लिएका थिए । पछि नाका खुलेपछि स्थानीयमा खुशी छाएको थियो । नाका पूर्ण रुपले खुलेलगत्तै सुनसान बनेका चीनको रमिते र तल्लो मोड क्षेत्रका चिनियाँ बजारमा होटेल र पसल खुल्न थाले भने उसैगरी नेपालको तातोपानी र लिपिङ बजार पनि लयमा फर्किन थाल्यो । तर, त्यो लय अहिले यार्सा सिजनमा फेरि गुमेको छ ।
अहिले नेपालबाट कन्टेनर सिधै खासा पुग्छ । योसँगै नेपालबाट पनि सामग्री चीन भित्रिन थालेको छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले आयात र निर्यातमा नाकाले अपेक्षाकृत छलाङ मारेको बताए । तातोपानीबाट कन्टेनरबाट झण्डै एक करोड बराबरको मुडा, फ्रेमजस्ता सामाग्री चीनको ल्हासा र अन्य बजारमा पुगेको उनले बताए । ‘यार्सा सिजनले अहिले राजस्व पनि केही फरक परेको छ,’ उनले भने, ‘तर, पनि आयात भने भइरहेको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित