सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पछिल्लो समय लापरबाही, मनेमानी तथा पक्षपात भएको भन्दै नेपाली कांग्रेसले ध्यानाकर्षण गराएको छ । आज एक विज्ञप्ति बुझाउँदै कांग्रेसले पाँचपोखरीमा पक्षपात तथा लापरबाहीका गुनासो बढेको भन्दै ध्यानाकर्षण गरेको हो ।
नेपाली कांग्रेसले पाँचपोखरीको सुशासन, विकास र सम्भावनाहरुलाई अत्यन्तै गम्भीर रुपमा नियालिरहेकोसमेत विज्ञप्तिमा उल्लेख छ । केही समयदेखि जनप्रतिनिधि, कर्मचारीलगायत पालिका सञ्चालनमा प्रत्यक्ष संलग्न व्यक्तिहरुसमेत कार्यालयमा नहुने गरेको कांग्रेसको आरोप छ ।
‘पालिकाका सबै समस्याहरुको समाधान स्थानीय सरकारले मात्रै गर्नुपर्छ भन्ने हाम्रो पार्टीको धारणा हैन । पालिकाभित्रका सम्पूर्ण समस्याहहरुको राजनीतिक तथा सामाजिक छलफलमार्फत समाधान खोजिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ । ’ विज्ञप्तिमा भनिएको छ ।