तर, चौतारा अस्पताल आफैं बिरामी छ

तर, चौतारा अस्पताल आफैं बिरामी छ

फरक पत्रिका

शुक्रबार, मंसिर ५ २०८३

तर, चौतारा अस्पताल आफैं बिरामी छ

सिन्धुपाल्चोक । तर, चौतारा अस्पताल आफैं बिरामी छ ।
दुई वर्षअघि जितपुरकी जमुना गिरीले विगतमा ढाड र दमको उपचार गराउन काठमाडौंका विभिन्न अस्पताल धाइन् । पछि चौतारा अस्पतालमै सेवा लिइन् ।
उनीजस्तै चौतारा साँगाचोकगढी नगरपालिका–६ गौरातीका रोमन तामाङ चौतारा अस्पतालले श्रीमती मुनाको निःशुल्क शल्यक्रिया गरी बच्चा जन्माइदिएपछि फुरुङ्ग परे । पहिलो सन्तान जन्माउन उनले गर्भवती श्रीमतीलाई लिएर धुलिखेल नै पुग्नुपरेको थियो । चौतारामै सेवा पाएपछि तामाङ परिवारले अस्पतालको अवस्था फेरिएको महसुस गरे ।
यो अस्पतालले विशेषज्ञ चिकित्सकसहितको आधुनिक सेवा दिन थालेपछि उनलाई काठमाडौं धाउनुपर्ने बाध्यता हटेको थियो । तर, अहिले यो फेरि पुरानो कथा बनिसकेको छ ।
यो अस्पताल पाँच वर्षअघिसम्म रेफर सेन्टरको रुपमा परिचित थियो । सामान्य रोगका बिरामीको समेत उपचार गराउन नसक्ने अवस्थामा पुगिसकेको यो अस्पताललाई चीन सरकारले सहयोग गरेपछि सुविधा–सम्पन्न बनेलगत्तै आधुनिक सेवा दिन सक्षम भएको पनि थियो । विशेषज्ञ चिकित्सकबाट विभिन्न रोगको शल्यक्रियासमेत यहिँबाट हुन थालेको थियो दुई वर्षअघि ।
तर, अहिले फेरि सेवाग्राहीले पुरानै समस्या भोग्नुपरेको अवस्था छ । कारण यहाँबाट हुनसक्ने सेवाप्रवाह । बिरामी वा आफन्त दाबी गर्दथे कि अस्पतालका कर्मचारीले बिरामीलाई राम्रो उपचार गर्दैनन् । कराउँछन्, हप्काउँछन् । यसैकारण सेवा क्षेत्र पर्ने बिरामीहरू सिधै धुलिखेल या राजधानी पुग्ने गर्दथे । सबैको एउटै भनाई हुन्थ्यो–“चौतारा अस्पताल गए कि मरिन्छ या बिरामी बिसको उन्नाइस हुँदैन।” अहिलेको अवस्था पनि उस्तै रहेको सेवाग्राहीको दाबी छ ।
र, अहिले चौतारा प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावले सेवा प्रवाह प्रभावित भएको छ । ५० शय्यामा स्तरोन्नति भएको अस्पतालमा दैनिक तीन सयभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरे पनि आवश्यक विशेषज्ञ जनशक्ति नहुँदा अपेक्षाअनुसार सेवा दिन चुनौती थपिएको हो ।
अस्पतालमा आधुनिक भवन र उपचारका आवश्यक उपकरण भने पर्याप्त मात्रमा उपलब्ध छ । सिजेरियन, एपेन्डिक्स, हाड जोर्नीसम्बन्धी शल्यक्रियादेखि डायलाइसिससम्मका सेवा सञ्चालनमा छन् । दैनिक तीनभन्दा बढी शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ । तर, उक्त सेवा सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सकको अभाव देखिएको छ ।
चौतारा अस्पतालमा उपचाररत मनकुमारी खत्री ढाडको नसासम्बन्धी समस्याबाट पीडित छिन् । उनलाई बस्न र उठ्नसमेत कठिनाइ छ । आवश्यक परीक्षण र विशेषज्ञ उपचार सहज रूपमा उपलब्ध नहुँदा थप उपचारका लागि राजधानी जानुपर्ने हो कि भन्ने चिन्ता उनमा छ ।
अस्पतालमा एमआरआई सेवा उपलब्ध नहुनु र चिकित्सक फेरिइरहँदा पटक–पटक आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुपर्ने बाध्यता रहेको उनको गुनासो छ । तर, विशेषज्ञ चिकित्सकको निरन्तरता नहुँदा उपलब्ध सेवासमेत नियमित सञ्चालन गर्न समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
उनका अनुसार सेवा क्षेत्रभित्रका स्थानीय तहले विशेषज्ञ चिकित्सकका लागि आर्थिक सहयोग वा अनुदानको व्यवस्था गर्न सके जिल्लामै विशेषज्ञ सेवा नियमित बनाउन सहज हुनेछ । गत असारमा हाडजोर्नी विशेषज्ञको सरुवापछि तीन महिनासम्म उक्त सेवा अवरुद्ध भएको थियो । बालरोग विशेषज्ञका लागि समेत आवेदन नपरेको अस्पतालको भनाई छ ।
चिकित्सकलाई आकर्षित गर्न पर्याप्त आवासीय सुविधा र अतिरिक्त आर्थिक प्रोत्साहनको व्यवस्था नहुँदा जिल्लामा विशेषज्ञ चिकित्सक टिकाउन कठिन भइरहेको अस्पताल व्यवस्थापन समितिको निष्कर्ष छ । सरकारी तलब सुविधाले मात्रै विशेषज्ञ चिकित्सकलाई जिल्लामा आकर्षित गर्न नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विवेक भण्डारीले बताए ।
यसअघि २०७२ साल बैशाख १२ गतेको भूकम्पले अस्पतालको भवन ध्वस्त बनायो । खुला चौरमा बिरामीको उपचार गर्नुपर्ने बाध्यता बन्यो । केही समय टुडिखलको चौरमा अस्पताल सञ्चालन गरियो । पछि चौतारा अस्पताल नौ वर्षसम्म साँगुरो अस्थाइ टहरोबाट सञ्चालन हुँदै आएको थियो । पर्याप्त जनशक्ति र प्रविधिको अभावसँगै साँघुरो कोठाबाट सञ्चालन हुँदै आएको यो अस्पतालमा भरभर्दो उपचार नभएको भन्दै स्थानीयहरु सामान्य रोगको उपचारका लागि पनि धुलिखेल वा राजधानीका अस्पतालमा धाउने गर्थे ।
चौतारा अस्पतालको स्तरोन्नति गर्न चीन सरकारले सहयोग गरेको हो । पछिल्लो समय हाडजोर्नी, फिजियोथेरापी र दुई वटा शल्यक्रिया कक्ष र बालबालिका लागि एस एन सियु र एन आइ सियु सेवासमेत थप भएको थियो ।
अस्पतालमा भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष छ । भुइँतलामा चार सय ५० केभी पावर जेनेरेटर र मेडिकल वेस्ट वाटर प्रोसेसिङ उपकरण पनि जडान गरिएको छ ।
त्यस्तै फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी पुनर्वास कक्ष, पोषण भान्सा, ड्युटी रुम, बहिरंग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेसन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्षको समेत व्यवस्था छ ।
पहिलो तलामा नर्सिङ स्टेसन, २९ शैयाको अन्तरंग विभाग, सो क्लासरुम, सात शय्याको प्रसूति विभाग, दुई अपरेटिङ कक्ष, रिकभरी कक्ष, नवजात शिशु स्याहार मेसिन, फोटो थेरापी उपकरण, बालबालिका उपचार कक्ष, पुरुष र महिलाका लागि छुट्टाछुट्टै ड्रेसिङ कक्ष, मेडिकल स्टाफ आराम कक्ष छन् । दोस्रो तलामा प्रशासनिक कार्यालय, तालिम हल, गतिविधि कक्ष, अप्रेसन डिपार्ट, पुस्तकालय, सम्मेलन रुम, अस्पताल निर्देशक कक्ष र मेडिकल डकुमेन्ट रुम छन्। तेस्रो तलामा पानी प्रशोधन कक्ष जहाँ कार्बन र बालुवा फिल्टर मेसिन छन्। अप्रेसन कक्षका लागि स्वच्छ हावा तयार पार्ने मेसिन र दुईवटा ठूला लुगा धुने मेसिन राखिएका छन्।
तर, चौतारा अस्पताल आफैं बिरामी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित