काठमाडौं । बजारमा पाइने ब्रान्डेड मदिरा ब्ल्याकलेबल, रेडलेबलसमेत नक्कली उत्पादन र बिक्रीबितरण हुने गरेको छ । सशस्त्र प्रहरीले नक्कली मदिरा उत्पादन गर्ने अखडामा छापा मारी गिरोह नै समातेपछि ब्ल्याकलेबल, रेडलेबलसमेत नक्कली बनाउने गरेको खुलासा भएको हो ।
ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापामारेको छ । साथै उक्त स्थानबाट ठूलो मात्रामा रेडलेवल, ब्ल्याकलेवल लगायत महंगा ब्राण्डेड रक्सीसमेत बरामद गरेकोे छ ।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष सूचनाका आधारमा सोही ठाउँमा रहेको बिर्खबहादुर तामाङको घरमा अवैध रुपले नक्कली ब्राण्डेड मदिरा तयार गरिरहेका चार जनालाई समेत नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरुमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–२ बस्ने ३० बर्षीय मनोज खत्री, सोही जिल्लाको खिम्ती गाउँपालिका बस्ने २८ बर्षीय विनोद तामाङ, २६ बर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–६ बस्ने २२ वर्षिय छिदेन निमा तामाङ छन् ।
साथै सशस्त्र प्रहरीले सोही ठाउँबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजश्वको स्टिकर र होलोग्राम समेत बरामद गरेको छ । बरामद रक्सी ठूलो परिमाणमा रहेकोले एकीन गर्न सकिएको छैन ।
नियन्त्रणमा लिइएकाहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी बिष्णुप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।