सिन्धुपाल्चोक । मनसुनजन्य विपदबाट सिन्धुपाल्चोकमा यो वर्ष तीन सय ४८ परिवार उच्च जोखिममा परेका छन् । सम्भावित विपदले तीमध्ये एक सय ३६ परिवार आफ्नो थातथलो छाडेर विस्थापित बनेका छन् ।
बाढी, पहिरोको सम्भावनाले पिरोल्दा जिल्लाको १२ मध्ये सात स्थानीय तहका बासिन्दा विस्थापित हुनुका साथै जोखिममा परेका हुन् । यो बर्खामा अझै पनि जिल्लाका विभिन्न भेगमा पानी पर्ने क्रम बढिरहेको छ । जल तथा मौसम विज्ञान विभागले जिल्लाका विशेषगरी हिमाली भेगमा भारी वर्षा हुने गरेको जनाउँदै आएको छ । जसले विपद् निम्त्याउने सम्भावना देखिएको हो ।
जिल्ला विपद ब्यवस्थापन समितिका अनुसार जिल्लाका स्थानीय तहहरुले दिएको प्रतिवेदनअनुसार बाह्रविसे नगरपालिका, भोटेकोशी, बलेफी, जुगल, हेलम्बु, पाँचपोखरी थाङ्पाल, त्रिपुरासुन्दरी गाउँपालिकामा बाढी तथा पहिरोको जोखिम बढेको छ । यीमध्ये सबैभन्दा धेरै भोटेकोशी गाउँपालिकाका स्थानीय जोखिममा रहेका छन् । जिल्ला विपद व्यवस्थापन समितिका सूचना ब्यवस्थापक अधिकृत रविराज धितालका अनुसार भोटेकोशीमा मात्रै दुई सय २५ परिवार बाढी तथा पहिरोको जोखिममा रहेका छन् । तीमध्ये उच्च जोखिममा रहेका दस परिवार विस्थापित भएका छन् । उनीहरुलाई स्थानीय तहको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको धितालले जानकारी दिए ।
भोटेकोशी नेपाल–चीन सीमा रहेको गाउँपालिका हो । यो स्थानीय तह उच्च हिमाली भेगदेखि तल्लो पहाडी भेगमा पर्दछ । भिरालो जमिन, ठूला ठूला पहाड रहेका डरलाग्दो भीरहरु भएकाले यहाँ पहिरोको जोखिम बढी रहेको हो । चीन हुँदै बगेर आउने भोटेकोशी नदीमा कुनै पनि बेला पानीको बहाव बढेर बाढीकोसमेत सम्भावना रहेको छ । यहाँ २०७३ साउनमा ठूलो बाढी आएको थियो । त्यतिबेला नेपाल–चीन सीमामा रहेको गुलजार लिपिङ बजारका करिब दुई सय घर भोटेकोशीमा मिसिएको थियो ।
समितिकाअनुसार भोटेकोशी वडा नं. १ लिस्तीमा २८ परिवार जोखिममा रहँदा दुई परिवारलाई स्थानान्तरण गरिएको छ । त्यस्तै वडा न.ं २ मा ५८ परिवार जोखिममा हुँदा दुई परिवार विस्थापित छन् । वडा नं. ३ मा ५० परिवार, वडा नं. ४ मा ५८ परिवार, वडा नं. ५ मा ६० परिवार जोखिममा छन् ।
त्यस्तै बाह्रविसे नगरपालिकाका विभिन्न वडामा गरी ३२ परिवार जोखिममा रहँदा २६ परिवारलाई सुरक्षित स्थानमा सारिएको नगरपालिकाका विपद व्यवस्थान शाखाका प्रमुख दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । उनकाअनुसार वडा नं. १ मा एघार, २ मा पाँच, ३ मा १०, वडा नं. ५ र ६ मा छ÷छ परिवार जोखिममा छन् । तीमध्ये २६ परिवारलाई स्थानान्तरण गरिएको उनले जानकारी दिए । ‘सुनकोसी नदीमा आउनसक्ने बाढी र नगरका विभिन्न स्थानमा खस्न सक्ने पहिरो अध्ययन गरेर जोखिम पहिल्याइएको छ,’ उनले भने, ‘विस्थापित परिवारलाई आवश्यक टेण्ट, त्रिपाल तथा दैनिक आधारभूत आवश्यकताका सामग्री दिएर सुरक्षित स्थानमा राखिएको छ ।’
जिल्ला विपद व्यवस्थापन समितिको तथ्यांकअनुसार बलेफीमा १५ परिवार, जुगलमा २८ परिवार विस्थापित भएका छन् । त्यस्तै हेलम्बु गाउँपालिकामा ३८ परिवार जोखिममा रहँदा २४ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
तीन वर्षअघि असार १ र साउन १७ गते आएको मेलम्ची जस्तै बाढी अझै ठूलो आउन सक्ने विज्ञहरुको निष्कर्ष निकालेका थिए । बाढीको विन्दु रहेको भेमाथाङमा अझै गेग्रानले भरिएको ठूलो चौर रहेको र त्यो कुनै पनि बेला बग्न सक्ने प्रारम्भिक निष्कर्ष बिज्ञ टोलीको रहेको थियो । यहीकारण पनि हेलम्बु र मेलम्चीवासी भारी वर्षा भएसँगै आँत्तिने गरेका छन् । मेलम्ची बाढीपछि सुरुआती विन्दु भेमाथाङको चौर २५ प्रतिशत मात्रै खसेको विज्ञहरुले जनाएका थिए । हेलम्बुको शीरमा रहेको भेमाथाङ चौर कुनै पनि बेला फुट्न सक्ने सम्भावना भएकाले बाढी उर्लिन सक्ने अवस्था रहेको छ ।
त्यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा १९ परिवार विस्थापित भएका छन् । यहाँको यांग्री लार्के नदीमा आउनसक्ने बाढी र भिरालो जमिनमा रहेको बस्तीले जोखिम बढाएको हो । सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, सुनकोशी, भोटेकोशी, ब्रम्हायणी नदीमा अहिले पनि बाढीको जोखिम छ । ठूला ठूला पहरा र भीरले बनेका भूगोल भएकाले पहिरोको जोखिम पनि झनै बढी छ ।