सिन्धुपाल्चोक । गएको असार २४ गते एक्कासी आएको बाढीले रसुवाको पुल बगाएपछि चीनतर्फ फसेका नेपालीलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै फर्काइने भएको छ । ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरूङमा फसेका नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको हो ।
केरूङमा करिब एक हजार दुई सय नेपाली छन् । तीमध्ये पहिलो चरणमा दुई सय जनालाई फर्काइने पहल थालिएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पुल नै बगाएपछि केरूङमै अड्किएका नेपालीहरूलाई वैकल्पिक बाटोबाट नेपाल फर्काउन पहल थालिएको जानकारी दिए। त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको उनले बताए । त्यसका लागि चिनियाँ पक्षले प्रक्रिया थालिसकेको भनेर जानकारी आएको प्रजिअ पौडेलको भनाइ छ ।
कामको सिलसिलामा गएका एक सय १७ जनाले घर फर्कने व्यवस्था गरिदिन आग्रह गरेका थिए । ल्हेन्देमा बाढी आएपछि मालबाहक सवारी साधनका चालक र सहचालक गरी ९१ जनालाई चिनियाँ पक्षले खान र बस्ने व्यवस्था गरिरहेको छ। उनीहरुसहितलाई नेपाल फर्काउन लागिएको हो ।